मीनराज वसन्तद्वारा अनूदित ‘पहेँलो छाता’ सार्वजनिक

बिहिबार, १० साउन, २०८१
डिजिटल संस्करण

प्रसिद्ध भारतीय लेखक उदय प्रकाशद्वारा लिखित ‘पिली छतरी वाली लड्की’ को नेपाली अनुवाद ‘पहेँलो छाता’ सार्वजनिक भएको छ। 

सम्पूर्ण किताब चितवनमा भएको एक अनौपचारिक जमघटमा ‘पहेँलो छाता’ सार्वजनिक गरिएको हो। स्रस्टाहरू भूपिन, डा. एकनारायण पौड्याल, डा. केशवराज चालिसे, रमेश प्रभात, चेतराज रेग्मी, लेखराम सापकोटा, अमर घिमिरेलगायतले कृति सार्वजनिक गरे।

कृति सार्वजनिक गर्दै भूपिनले आफू उदय प्रकाशको लेखनको प्रशंसक भएको बताए। 'उहाँका कृतिमध्ये मलाई मनपर्नेमध्येको एक पिली छतरी वाली लडकी पनि हो,' उनले भने, 'यसलाई मीनराज वसन्तले नेपालीमा अनुवाद गरेर राम्रो काम गर्नुभएको छ। यो ज्यादै खुसीको कुरा हो।'

‘पहेँलो छाता’मार्फत पाठकले उदय प्रकाशको समाजलाई हेर्ने दृष्टिकोण र बुझ्ने धारणा महसुस गर्न सकिने उनको भनाइ थियो। 'भारतीय उपमहाद्वीपमा जुन जातीय र भाषिक मुद्दा छ, त्यसलाई उदय प्रकाशले कलात्मक ढंगले विश्वविद्यालयको परिवेशमा कथा उनेका छन्,' भूपिनले भने, 'नेपालमा पनि दलितमुक्ति आन्दोलनका लेखक तथा पाठक दुवैका लागि यो कृति फाइदाजनक छ। भाषिक कोमलतामा पनि यति सुन्दर कृति लेख्न सकिन्छ भन्ने थाहा पाउन पनि यो कृति पढ्नुपर्छ।'

‘पिली छतरी वाली लड्की’ को नेपाली अनुवाद आख्यानकार मीनराज वसन्तले गरेका हुन्। उनका यसअघि दुई आख्यान ‘मुदिर’ (२०७३) र ‘पिपिरी’ (२०७५) प्रकाशित छन् भने लेनिनको जीवनी ‘लेनिन’ (अनुवाद) प्रकाशित छन्। बिएन पुस्तकले प्रकाशन गरेको कृतिको मूल्य चार सय २५ रुपैयाँ रहेको छ।

सुझावित समाचार