गुल्मीको निस्ती खोलामा बेपत्ता कार्की पाँच दिनपछि मृत फेला

बिहिबार, १० साउन, २०८१
डिजिटल संस्करण

गुल्मीको निस्ती खोलामा पाँच दिनदेखि बेपत्ता एक व्यक्ति मृत फेला परेका छन्। मुसिकोट नगरपालिका– १ का ३१ वर्षीय बोमबहादुर कार्की बिहीबार दोभानमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलका अनुसार उनी साउन ५ गते मुसिकोट नगरपालिका– २ स्थित मामाघरको खेतमा पुगेर फर्किँदै गर्दा खोलाले बगाएर बेपत्ता भएका थिए।

मामाघरमा बस्दै आएका कार्की सुस्तमनस्थितिका थिए। आज अबेर शव फेला परेर पहिचान भएकाले पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याउने तयारी भएको प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए।

सुझावित समाचार