कर्णालीमा एक वर्षमा सवारी दुर्घटनामा परी ११२ जनाको मृत्यु

बिहिबार, १० साउन, २०८१
डिजिटल संस्करण

कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी ११२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर एक हजार ४४५ सवारी दुर्घटनामा परी ११२ जनाको मृत्यु भएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा ९५९ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । सल्यानमा १३० सवारी दुर्घटना हुँदा १९ जनाको मृत्यु हुँदा रुकुम पश्चिममा ९३ वटा सवारी दुर्घटनामा २३ जनाको मृत्यु भएको हो ।

यसैगरी, गत वर्ष कालीकोटमा ४८ वटा सवारी दुर्घटनामा परी सातजनाको मृत्यु भयो भने जाजरकोटमा ६८ वटा दुर्घटना पाँच, दैलेखमा ७० वटा दुर्घटना हुँदा १०, जुम्लामा भएका ४१ दुर्घटनामा सातजनाको मृत्यु भएको छ । समीक्षा अवधिमा मुगुमा १२ र डोल्पामा १३ वटा सवारी दुर्घटनाका घटना भएका थिए ।

दुई हजारभन्दा धेरै घाइते

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सवारी दुर्घटना परी एक वर्षको अवधिमा दुई हजार ७७ जना घाइते भएका छन् । घाइतेमध्ये ५२४ जना गम्भीर र अन्य सामान्य छन् । घाइतेमध्ये सबैभन्दा धेरै सुर्खेतका एक हजार १८४ छन् भने सल्यानका २७१, रुकुम पश्चिमका १५६, कालीकोटका ९६, जाजरकोटका ८७, दैलेखका १३८, जुम्लाका ६०, मुगुका ३९, डोल्पाका २१ र हुम्लाका २६ जना रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकल, स्कुटर र अटो दुर्घटना धेरै

कर्णालीमा सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका छन् । गत आवमा प्रदेशभर ७७१ वटा मोटरसाइकल तथा स्कुटर दुर्घटना भएका छन् । त्यसपछि १६५ वटा अटोरिक्सा, २१८ वटा जिप तथा कार, ९१ वटा ट्रयाक्टर दुर्घटना भएका छन् ।

एक वर्षको अवधिमा ७० वटा बस दुर्घटना भएका छन् भने ६९ वटा ट्रक/ट्यांकर दुर्घटना परेको प्रहरीले जनाएको छ । यस्तै, २७ वटा माइक्रो फोर्स, १५ वटा टिपर, १४ वटा डोजर तथा लोडर दुर्घटना भएका थिए । रासस

 

सुझावित समाचार