प्रधानमन्त्री केपी ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको कारण यथाशीघ्र पत्ता लगाउन निर्देशन दिएका छन् । विमान दुर्घटनास्थल अवलोकनपछि त्रिभुवन विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरण र सुरक्षाकर्मीबाट ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन पनि निर्देश गरेका छन् । ‘यसबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउँदै आगामी दिनमा यस्ता घटना नहुन् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिनुभयो । घटना कसरी भयो ? मानवीय वा प्राविधिक कमजोरी भयो ? भन्ने बुझ्न आग्रह गर्नुभयो,’ प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा छ ।
त्यस्तै, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुःख व्यक्त गरेका छन् । ‘दुर्घटनामा परी दिवंगत हुनुभएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सभापति देउवाले उहाँहरूको आत्माको चिरशान्तिको कामनाका साथ शोकाकुल परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट हार्दिक समवेदना प्रकट गर्नुभएको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । ‘सौर्य एयरलाइन्सको एन–एएमई विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको खबरले स्तब्ध तुल्याएको छ । म नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, घाइते पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ प्रचण्डले भनेका छन् ।
पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुर्घटनाको वास्तविक कारण यथासम्भव पत्ता लगाउन, नेपाली हवाई आकाशलाई सुरक्षित बनाउन र आउँदा दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । त्यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएर डेढ दर्जनको दुःखद निधन हुनु अत्यन्त पीडादायी र चिन्ताजनक अवस्था भएको बताएका छन् । दुर्घटनाको निष्पक्ष छानबिन गरेर शीघ्र प्रतिरोधात्मक व्यवस्था गर्न उनले सरकारसँग माग गरेका छन् ।