गृहमन्त्री रमेश लेखकले सहिद मुकेश कायस्थको परिवारले राज्यबाट पाउनुपर्ने सुविधा दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार गृह मन्त्रालयमा भेट्न पुगेकी मुकेशकी आमा मीरा कायस्थसँग गृहमन्त्री लेखकले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।
‘संघीय लोकतन्त्रिक गणतन्त्र स्थापनामा सहिद मुकेश कायस्थको योगदान छ। राज्यबाट पाउने सुविधा दिलाउने मेरो प्रतिबद्धता भयो। म यसमा लाग्छु,’ गृहमन्त्री लेखकले भने।
दोस्रो जनआन्दोलन (२०६२–६३) का घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको गत वर्ष वैशाख २७ गते निधन भएको थियो। तत्कालीन सरकारले जेठ २ गते मुकेशलाई सहिद घोषणा पनि गरेको थियो।
तर, राज्यबाट सहिद परिवारले पाउने सुविधा आफूले नपाएको मुकेशकी आमा मीराको भनाइ छ। गृहमन्त्री लेखकसँगको भेटमा उनले भनिन्, ‘बाबु सहिद भएपछि राज्यबाट पाउनुपर्ने सुविधा पाएको छैन। राज्यबाट पाउनुपर्ने सबै सुविधा पाउनुपर्यो।’
सहिद घोषणा राजपत्रमामा प्रकाशित हुँदा निधन भएको मिति नमिलेपछि सुविधा पाउनबाट एक वर्षदेखि मुकेशको परिवार वञ्चित छ। ‘राजपत्रमा मृत्यु भएको गते मिलेको छैन। मन्त्रीज्यूले त्यो सच्याएर सुविधा पाउने व्यवस्था मिलाउँछु भन्नुभएको छ,’ मीराले भनिन्।
यसअघि रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा आफ्नो समस्या राखे पनि सम्बोधन नभएको उनको भनाइ छ। ‘अहिले मन्त्रीज्यूले मन्त्रिपरिषदमा लगेर हाम्रो माग सम्बोधन गर्छु भन्नुभएको छ। प्रधानमन्त्रीज्यूसँग पनि कुरा गर्छु भन्नुभयो छ। अब माग सम्बोधन हुने आशा राखेकी छु,’ उनले भनिन्।
सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो।
मुकेशलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्यांकन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो।