ज्योति विकास बैंकले स्थापनाको १६औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। २०६५ श्रावण ९ गते स्थापना भएको बैंकले १६ वर्षको सफल यात्रा पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको हो। प्रधान कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरेका थिए।
बैंकले वार्षिकोत्सवको अवसर पारेर परिमार्जित, परिष्कृत तथा प्रयोगकर्तामैत्री नयाँ आधिकारिक वेबसाइटको पनि औपचारिक शुभारम्भ गरेको छ। अध्यक्ष हरिचन्द्र खड्काले डिजिटल प्रविधिमार्फत वेबसाइटको समुद्घाटन गरेका थिए।
सो अवसरमा बैंकले केन्द्रीय कार्यालयपरिसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ, जसमा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारण गरी ५० जनाले रक्तदान गरेका छन्। कार्यक्रममा विगत १० वर्ष तथा १५ वर्षदेखि अनवरत रूपमा बैंकमा कार्यरत २७ कर्मचारीहरूलाई सम्मानित गरिएको बैंकले जनाएको छ। अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले संयुक्त रूपमा कर्मचारीहरूलाई पदक तथा कदरपत्र प्रदान गरेका थिए।
१६औँ वार्षिकोत्सवको अवसरमा बैंकले विविध अति गौरवमय सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको सम्झौता तथा उद्घोषणसमेत गरेको छ। आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको बैंकले जनाएको छ।