राष्ट्रिय मानव अधिकार आयोगले विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराएको छ।
विभिन्न अभियोगमा छानबिन प्रक्रियामा रहेका एवं सामाजिक र नैतिक रूपमा विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्तिका लागि सिफारिस भएको विषयमा ध्यानाकर्षण भएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्तीमार्फत जनाएका छन्।
‘राज्यका निकायमा नियुक्ति हुने व्यक्तिहरू सामाजिक रूपमा स्वच्छ छवि भएको, विवादरहित, उच्च नैतिक चरित्र भएको र कानुनी रूपमा फौजदारी अभियोगमा सजाय नभएको हुनुपर्दछ भन्ने लोकतन्त्रको आधारभूत मान्यता, सभ्य समाजको अपेक्षा र सार्वजनिक सरोकारको विषय हो,’ आयोगले भनेको छ।
पदीय जिम्मेवारीअनुसारको योग्यता र क्षमता वस्तुगत आधारमा यकिन गरेर मात्र योग्यतम व्यक्तिलाई राज्यका निकायमा नियुक्त गर्न सर्वोच्च अदालतले ०७३ फागुनमा जारी गरेको परमादेशसमेत आयोगले स्मरण गराएको छ।
‘लोकतन्त्रको भावना र संविधानको मर्मविपरीत हुने गरी विभिन्न विषयमा विवादमा आएका व्यक्तिहरूलाई सार्वजनिक निकायमा नियुक्ति नगर्न/नगराउन आयोग नेपाल सरकारलगायत सम्बन्धित निकायलाई निर्देशन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।