सौर्य एयरको जहाज दुर्घटना भएलगत्तै बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ।
आज बिहान काठमाडौंबाट पोखराका लागि उडान भर्न लाग्दा सौर्य एयरको ९एन एएमई जहाज धावनमार्गबाट चिप्लिएर विमानस्थलको पूर्वतर्फको खाल्डोमा खसेर दुर्घटनाग्रस्त भएको थियो।
त्यसलगत्तै विमानस्थलमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडान तथा अवतरण बन्द गर्दै उद्धार सुरु भएको थियो।
दुर्घटनाग्रस्त जहाजका सम्पूर्ण जीवित तथा मृतकहरूको उद्धार सकिएकाले अहिले विमानस्थल पुनः सुरु गरिएको विमानस्थलका अधिकारीहरूले बताएका छन्।
आज बिहान भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। चारजनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ। जहाजमा रहेका सबै सौर्य एयरलाइन्सका प्राविधिक र कर्मचारी थिए।
घाइते चारमध्ये जहाजका क्याप्टेनको केएमसी अस्पतालमा र तीनजनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।