ओलम्पिकमा नेपालबाट सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रिन्स, सुस्मिता र मनिता पछिल्लो दुई वर्षदेखि नेपाल ओलम्पिक कमिटीको ओलम्पिक सोलिडारिटीअन्तर्गत छात्रवृत्ति प्राप्त खेलाडी हुन् ।
फ्रान्सको पेरिसमा हुने ३३औँ गृष्मकालीन ओलम्पिकको मार्च पास्टमा नेपालको झन्डा टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्ने भएका छन् । २६ जुलाइदेखि ११ अगस्टसम्म हुने ओलम्पिक नेपालबाट पहिलोपटक संयुक्त रूपमा दुई खेलाडीले मार्च पास्टमा झन्डा बोक्ने नेपाल ओलम्पिक कमिटी (एनओसी)ले जनाएको हो । स्यान्टु क्षेत्रीय तथा मनिता महादेशीय छनोटबाट ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
टेबलटेनिसकी स्यान्टु छनोट चरण पार गरी ओलम्पिकमा स्थान बनाउने तेस्रो नेपाली खेलाडी हुन् । टेबलटेनिसबाट ओलम्पिक खेल्ने उनी पहिलो नेपाली खेलाडी हुन् । स्यान्टुअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरी ओलम्पिक खेलेका थिए । संगिनाले सन् २००४ को एथेन्स । दीपकले सन् २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए ।
पेरिस ओलम्पिकमा झन्डा बोक्ने जुडोकी मनिता वाइल्डकार्डबाट छनोट भएकी हुन् । ओलम्पिकमा नेपालबाट सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ब्याडमिन्टका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रिन्स, सुस्मिता र मनिता पछिल्लो दुई वर्षदेखि नेपाल ओलम्पिक कमिटीको ओलम्पिक सोलिडारिटीअन्तर्गत छात्रवृत्ति प्राप्त खेलाडी हुन् ।
ब्याडमिन्टनमा प्रशिक्षकविहीन
नेपाल ब्याडमिन्टन संघले समयमै प्रशिक्षकको नाम सिफारिस नगर्दा प्रिन्सले ओलम्पिकमा प्रशिक्षकविना नै प्रशिक्षण गर्नेछन् । संघले एनओसीलाई प्रिन्सका प्रशिक्षकको नाम समयभित्र उपलब्ध गराउन सकेन । यसैकारण उनी आफ्नो डेब्यु ओलम्पिक खेलमै प्रशिक्षकविहीन भएका हुन् । सुटिङमा प्रदीप खाती, जुडोमा देवु थापा, एथलेटिक्समा कान्तिकुमारी महतो यादव र पौडीमा नयना शाक्यले प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । एनओसीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङलाई ‘सेफ द मिसन’ नियुक्त गरेको छ । एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य ओलम्पिक अटाची र कार्यकारी सचिव सुजनलाल श्रेष्ठ वेलफेयर अफिसरका रूपमा छन् ।
नेपाली टोलीका डाक्टर नबिसमानसिंह प्रधान छन् । सहभागी नेपाली टोली अधिकांश समस्य पेरिस पुगिसकेका छन् । एथलेटिक्सतर्फ म्याराथनको प्रतिस्पर्धा अन्तिम दिन हुँदा सन्तोषी र अफिसियल २० जुलाईमा पेरिस पुग्नेछन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँगै एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव नीलेन्द्रराज श्रेष्ठ उद्घाटन अवसरमा उपस्थित हुनेछन् । समग्रमा २७ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउनेछ ।
ओलम्पिकमा म्याकडोनाल्ड प्रतिबन्ध
पेरिस ओलम्पिकमा सहभागी खेलाडीले म्याकडोनाल्ड प्रयोग गर्न नपाउने भएका छन् । आयोजकले ओलम्पिक भिलेजमा खेलाडीका लागि तयार पारेको मेन्युमा म्याकडोनाल्ड प्रतिबन्ध लगाएको छ । खेलाडीले म्याकडोनाल्डजस्तै अन्य परिकार पाउनेछन् । खेलाडीहरूको बिहानदेखि बेलुकासम्मको खाना व्यवस्था मिचेलिन स्टार सेफले गर्नेछन् । पेरिसमा शाकाहारी भोजनलाई प्राथमिकतामा राखेको छ । सन् २००८ को बेइजिङ ओलम्पिकमा जमैकाका उसेन बोल्टले म्याकडोनाल्ड खुबै खाएका थिए ।
१० दिन बेइजिङमा रहँदा उनले लगभग हजार पिस म्याकडोनाल्ड खाएको एजेन्सीले जनाएको छ । पेरिस ओलम्पिकको आयोजकले खेलाडीहरूलाई स्वस्थ बनाउने लक्ष्य राखेको छ । आयोजकहरूले राम्रो स्वास्थ्य प्रवद्र्धन गर्न र यसको कार्बन फुटप्रिन्ट कम गर्न ओलम्पिक भिलेजमा हल्का, स्थानीय रूपमा प्राप्त शाकाहारी व्यञ्जनमा फ्रान्सेली पाक परम्परालाई जोड दिएको छ ।