विद्यालय तहका विद्यार्थीलाई आइटी (सूचना प्रविधि) क्षेत्रको आधारभूत ज्ञान प्रदान गर्न आइबिएम विद्यालय कार्यक्रम तयार भएको छ । आइबिएम (कम्प्युटर निर्माण कम्पनी)ले बनाएको यो कार्यक्रम भारतको चर्चित शिक्षा, प्रविधि कम्पनी ट्रान्सन्युरनसँगको सहकार्यमा एसियन इलर्निङले पाँचदेखि १२ कक्षाका विद्यार्थीका लागि तयार गरेको हो ।
कक्षा ११ र १२ अध्ययन गरी सोभन्दा माथिल्लो तहमा समेत आइटी विषय पढ्न चाहने विद्यार्थीलाई लक्षित गर्दै कोर्स तयार पारिएको छ । हाल विद्यालय तहमा सबै विद्यार्थीका लागि उपयोगी हुने आइटी कार्यक्रम छैन । सोही कारण कक्षा ११ र १२ पछि आइटी विषय अध्ययन गर्ने विद्यार्थी दोधारमा पर्ने गर्छन् । दक्षिण एसियामा लागू गर्न लागिएका आइबिएम विद्यालय कार्यक्रम नेपालमा पनि एकैसाथ लागू गर्न खोजिएको हो । एसियन इलर्निङले आइटी क्षेत्रको विषय विद्यालय तहको पाठ्यक्रममा समेट्ने गरी तयार पारेर शिक्षा मन्त्रालय र सरोकारवालासँग छलफल चलाइरहेको छ ।
पोखरा महानगरपालिकाले आइबिएम विद्यालय कार्यक्रमलाई ०८१/८२ को नीति तथा कार्यक्रममा समावेश गरिसकेको छ । तर, अन्य शैक्षिक संस्था तथा स्थानीय तहले उक्त कार्यक्रमको मोडालिटीबारे नीति तथा कार्यक्रम तय गरेका छैनन् । आइबिएम कम्पनीले तयार पारेको विश्वस्तरको विद्यालय कार्यक्रम नेपालमा पनि लागू गर्दा प्रभावकारी हुने विश्वास गरिएको छ ।
सन् १९८१ मा विश्वमै पहिलोमध्येको पर्सनल कम्प्युटर बजारमा ल्याएको आइबिएमले संसारको सबैभन्दा उच्च गतिका सुपर कम्प्युटर निर्माण गरेको छ । आइबिएमको यो कोर्सभित्र विश्वस्तरको सिकाइ सामग्रीसहित आइबिएमकै प्रशिक्षकबाट फेस टु फेस कक्षा, इन्डस्ट्रीबाट गेस्ट लेक्चररको व्यवस्था पनि गरिनेछ । एसियन इलर्निङका म्यानेजिङ डाइरेक्टर सुबोध त्रिपाठीले अहिले विश्वभर एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा र ब्लकचेन सबैभन्दा ठूला चुनौती र सम्भावना बोकेका क्षेत्रका रूपमा रहेको बताए । ‘नेपालमा पनि निकट भविष्यमा यी प्रविधिको प्रयोग व्यापक हुँदै छ, विभिन्न प्रक्षेपणअनुसार विश्व बजारमा सन् २०३० सम्म आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा र ब्लकचेन प्रविधिको आकार क्रमशः १०.८ खर्ब डलर, पाँच सय अर्ब डलर र १.२ खर्ब डलरको हुने अनुमान गरिएको छ,’ उनले भने, ‘हाम्रो भावी पिँढी यो अवसरबाट वञ्चित नहोस् र उसले नवीन प्रविधिको प्रयोग सुरक्षित, विश्वसनीय र नैतिक हिसाबले गर्न सकोस् भन्ने उद्देश्यले कोर्स नेपालमा ल्याएका हौँ ।’ उनले सरकारी निकायसँग यो कार्यक्रम दूरदराजमा लैजाने गरी छलफल भइरहेको बताए । यदि स्थानीय तहले यो कार्यक्रमलाई आत्मसात् गर्न सके सबै क्षेत्रका विद्यार्थीले आइटी क्षेत्रको ज्ञान हासिल गर्न सक्ने र पढाइपछि आफैँ उद्यमी बन्न सक्ने उनको भनाइ छ ।
कक्षा पाँचदेखि नै आइबिएमको यो कोर्स लिने विद्यार्थी कक्षा १२ सम्म पुगिसक्दा निकै स्मार्ट भइसक्ने र भविष्यको श्रमबजारका लागि समेत तयार हुने अपेक्षा गरिएको छ । त्रिपाठीका अनुसार यी कोर्सको डिजाइन विद्यार्थीले पढ्दा निरस र बोझिलो महसुस नहुने गरी गरिएको छ । यो कोर्स विद्यालयमा कुनै थप लगानीविनै उपलब्ध पूर्वाधार एवं जनशक्तिका आधारमा सञ्चालन गर्न सकिनेछ ।
७० प्रतिशत अनलाइन र ३० प्रतिशत अफलाइन कक्षा
७० प्रतिशत अनलाइन र ३० प्रतिशत अफलाइन माध्यमबाट यसको कक्षा सञ्चालन गरिने गरी कोर्स डिजाइन गरिएको छ । विद्यार्थीलाई यो कोर्स दिलाउन विद्यालयले महँगा ल्याब स्थापना गर्नुपर्दैन । भर्चुअल ल्याबमार्फत प्रोगामिङ सिकाइनेछ । विद्यार्थीले इनोभेटर कोर्सका वेला तयार गर्ने प्रोजेक्टलाई भेन्चर क्यापिटलिस्ट प्यानल तथा स्टार्टअप फन्डसामु प्रस्तुत गर्ने व्यवस्था मिलाइएको छ । ट्रान्सन्युरनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिवम् शर्माले भारत, नेपालजस्ता विकासशील देशमा रहेको सीप र श्रमबजारबीचको खाडल पुर्न यस्ता कार्यक्रम अत्यावश्यक रहेको बताए । उनले यसमा विद्यालय तथा स्थानीय तहले चासो देखाएका कार्यक्रमलाई विद्यालय तहमा लागू गर्न सहज हुने दाबी गरे । आइटी क्षेत्रको विषयलाई प्राथमिकता दिँदा दक्ष जनशक्ति उत्पादन हुने भएकाले युवा पलायनलाई समेत रोक्ने उनको भनाइ छ ।
आइबिएम विद्यालय कार्यक्रम नेपालका सल्लाहकार डा. सुभाष प्याकुरेलले विद्यालयका बालबालिकालाई एकदमै उपयुक्त कार्यक्रम भित्रिएको बताए । ‘सही समयमा सही प्रकृतिको कार्यक्रम भित्रिएको छ,’ उनले भने, ‘जसबाट नेपाल र नेपालीले विश्व बजारको बौद्धिक वृत्तमा प्रवेश गरी देशको अर्थतन्त्रलाई टेवा पुर्याउन सक्नेछन् ।’
विद्यार्थीलाई के–के सिकाइन्छ ? कति लाग्छ शुल्क ?
यो कार्यक्रम मुख्यतः कक्षा पाँचदेखि १२ सम्मका विद्यार्थीका लागि हो । उनीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा र ब्लकचेन गरी तीनवटा नवीनतम सूचना प्रविधिका क्षेत्र समेटेर कक्षा सञ्चालन गरिनेछ । यो कार्यक्रम दक्षिण एसियामै पहिलोपटक सुरु गरिएको हो । यो कार्यक्रममा ४० देखि ६० घण्टाका विभिन्न सातवटा कोर्स समावेश छन् । जसमा सातामा डेढ घण्टा विद्यार्थीलाई पढाउन सकिनेछ ।
यो कोर्स पढ्न विद्यार्थीले धेरै रकम तिर्नुपर्दैन । यो विषय सबै संकायमा घुसाउन सकिन्छ । आइटी कार्यक्रममा पढ्न चाहने विद्यार्थीले मासिक आठ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यसमा कोर्स उपलब्ध र प्राविधिक सहयोग एसियन इलर्निङले गर्नेछ । विद्यालय लेभलको तल्लो तह तथा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्रलगायत सबै संकायका विद्यार्थीले आइटीको नयाँ कोर्स पढ्न सक्नेछन् ।