उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बढ्दै गएको होटेल संख्याअनुरूप विद्यमान माग बढाउँदै क्षमता उपयोग गर्न नीतिगत सुधार गर्नेतर्फ सरकार सक्रिय रहेको बताएका छन्।
अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको होटेल संघ नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले बढ्दै गएको होटेलहरूको संख्या र क्षमता उपयोग गर्न भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान बढाउनुका अतिरिक्त पर्यटकीय तथा राष्ट्रिय महत्त्वका राजमार्गहरूको विस्तार र स्तरोन्नति निश्चित समयभित्र सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए।
पौडेलले आउँदो मौद्रिक नीतिमा पर्यटन–होटेल क्षेत्रको स्थायित्व तथा प्रवर्द्धन गर्न अभिप्रेरित रहने बताउँदै व्यवसायीहरूले लामो समयदेखि होटेल क्षेत्रलाई उद्योगसरहको मान्यता दिने मागप्रति सरकार सकारात्मक रहेको र नीतिगत सुधार गर्ने बताए। उनले नेपालमा आउने भारतीय पर्यटकहरूबाट त्यहाँको खर्च गर्ने सीमा तथा व्यवस्था, आन्तरिक पर्यटन बढाउनेलगायत होटेल संघ नेपालले उठाएका पर्यटन विकास विस्तारका विषयहरूमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गरे।
उक्त अवसरमा होटेल संघका अध्यक्ष शाहले होटेलको संख्या तथा क्षमता बढेअनुरूप माग बढ्न नसकेको हुँदा आउँदो मौद्रिक नीतिलगायतका सरकारी पहल आवश्यक रहेको विवरण प्रस्तुत गरी ज्ञापनपत्र पेस गरेका थिए।
प्रतिनिधिमण्डलमा द्वितीय उपाध्यक्ष दिनेश तुलाधर, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यहरू सिपी श्रेष्ठ र जयदीन श्रेष्ठको उपस्थिति रहेको थियो।