सालपा विकास बैंकले सञ्चालन गर्‍यो १२ वर्षपछि मोबाइल बैंकिङ सेवा

मंगलबार, ८ साउन, २०८१
डिजिटल संस्करण

सालपा विकास बैंकले स्थापना भएकाे १२ वर्षपछि मोबाइल बैंकिङ सेवा सुरु गरेको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने मूल नारासहित ३ साउन ०६९ मा दिक्तेल बजारमा केन्द्रीय कार्यालय स्थापना गरेर सेवा प्रवाह गरिरहेको बैंकले सोमबारदेखि मोबाइल बैंकिङ सेवा सुरु गरेको हो ।

सेवाग्राहीलाई छिटो, छरितो र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याइएको बैंक सञ्चालक समितिका अध्यक्ष टंक राईले जानकारी दिए । ‘राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार खोटाङको कुल जनसंख्या एक लाख ५७ हजार ३०४ छ । हाम्रो जिल्लामा सालपा विकास बैंकसहित १२ वटा बैंक सञ्चालनमा छन्,’ उनले भने, ‘बचत खाता खोल्नेको संख्या एक लाख ४७ हजार ७०३ छ । जसमध्ये हाम्रो बैंकमा खाता खोल्नेको संख्या ३६ हजार ६८१ रहेकाे छ । उहाँहरूलाई छिटो, छरितो र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याइएको हो ।’

सेयर सदस्यहरूको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत गरी दुई करोडको पुँजी लगानीबाट सुरु गरिएको बैंकले निक्षेप रकमलाई जिल्लाका कृषि, पर्यटन, व्यवसायी, उद्यमीहरूको व्यवसाय प्रवर्द्धनका लागि सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । ‘एक घर, एक खाता’ भन्ने परियोजनासमेत सञ्चालन गरिरहेको बैंकको कुल निक्षेप एक अर्ब चार करोड रुपैयाँ रहेको वितरण शाखाका प्रमुख वरिष्ठ अधिकृत दिवाकर राईले जानकारी दिए।

‘जनता बैंकमा होइन, बैंक जनतासम्म जानुपर्छ’ भन्ने अवधारणा लिएर सञ्चालन गरिएको सालपा विकास बैंकको कुल चुक्ता पुँजी ३५ करोड रहेको जनाइएको छ । निकट भविष्यमा आइपिओ खुलाएर हालको चुक्ता पुँजीलाई ५२ करोड २३ लाख ८८ हजार पुर्याउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।

दिक्तेल बजारसँगै ६ ठाउँमा शाखा रहेको बैंकले चल्ती तथा कल खाता, साधारण, नारी, विद्यार्थी, ज्येष्ठ, बाल, खुत्रुकेलगायतका दशटा बचत खाता, आठ किसिमका मुद्दती खाता र नौ किसिमका कर्जा तथा सापट विप्रेषणलगायतका सेवा प्रवाह गर्दै आएको छ । हलेसी, ऐँसेलुखर्क, बाक्सिला, सिम्पानी र चिसापानीमा शाखा कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्दै आएको बैंकले आइएमई, प्रभु मनी ट्रान्सफर, हिमाल रेमिट, वेस्टर्न युनियन, हुलास रेमिट, सेवा रेमिट, सिजी फिन्को, सिटी एक्सप्रेस, रिलायबल रेमिट, कुमारी रेमिट सेवासमेत प्रदान गर्दै आएको छ । 

‘तपाईंको सजिलो वित्तीय साझेदार’ भन्ने नाराका साथ जिल्लाभर सेवा प्रवाह गरिरहेको बैंकले स्थानीय तहसँगको सहकार्यमा जिल्लास्थित पाँचवटै शाखामार्फत सामाजिक सुरक्षाभत्तासमेत वितरण गर्दै आएको छ । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा प्रधान कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सालपा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ श्रेणीको इजाजत प्राप्त गरेको छ । स्थापनाकालमा १० जिल्लाका १२० जना सेयर सदस्यबाट सुरु गरिएको बैंकमा हाल ६८ जिल्लाका तीन हजार ५०० सेयर सदस्य छन् । 

स्थापनाकालमा खोटाङ जिल्लालाई मात्रै कार्यक्षेत्र बनाएको बैंकको गत फागुन २० गते सम्पन्न ११औँ साधारणसभाले आफ्नो कार्यक्षेत्रलाई थप चार जिल्लामा विस्तार गर्ने निर्णय पारित गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– २ सोल्मास्थित शुभम् फाउन्डेसनमा सम्पन्न ११औँ साधारणसभाले उदयपुर, सुनसरी, झापा र मोरङमा शाखा स्थापना गरेर कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको हो । 

सुझावित समाचार