लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्री

एमाले प्रदेश संसदीय दलका नेता लीला गिरीको नाम अन्तिममा काटेर अघि सारिए आचार्य

मंगलबार, ८ साउन, २०८१
डिजिटल संस्करण
लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्री

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष नयाँ सरकारका लागि दाबी पेस गर्दै  एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य । तस्बिर : भरत केसी/रासस

एमालेले संसदीय दलका नेता लीला गिरीलाई पन्छाएर उपनेता चेतनारायण आचार्यलाई लुम्बिनीको मुख्यमन्त्री बनाएको छ । आचार्यलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री  नियुक्त गरे । आचार्यलाई मुख्यमन्त्री बनाउन एमाले र कांग्रेसका ५६ सांसदको समर्थन छ । यहाँ ८७ सदस्यीय प्रदेश सभा छ ।   

मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएसँगै गिरीलाई अगाडि सार्न कांग्रेस–एमालेबाट हस्ताक्षरसमेत संकलन भएकामा सोमबार एकाएक केन्द्रबाट फरक निर्देशन आएपछि आचार्यले मौका पाएका हुन् । नवनियुक्त मुख्यमन्त्री आचार्यले बुधबार शपथग्रहण गर्ने कार्यक्रम छ । शपथसँगै मन्त्रिमण्डल विस्तारको तयारी छ । 

अर्घाखाँचीबाट  निर्वाचित आचार्य यसअघिका प्रदेश सरकारमा तीनपटक मन्त्री बनेका थिए । गिरी एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलनिकट र आचार्य महासचिव शंकर पोखरेलनिकट हुन् ।

एमाले सांसद भूमिश्वर ढकालले ०७९ को निर्वाचनपछि पार्टीभित्र पहिलो चरणमा गिरी र पछि आचार्य मुख्यमन्त्री हुने सहमति भएको बताए । त्यसअनुसार गिरी यसअघि मुख्यमन्त्री बनेका थिए । नवनियुक्त मुख्यमन्त्री आचार्यले पार्टीमा गुट उपगुट नरहेको बताए । 
 

सुझावित समाचार