तीनपटकसम्म २५ सयको अंक छुँदै फर्किँदै गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार सामान्य वृद्धिमै रोकिएको छ। सोमबार बजार बन्द हुँदा नेप्से २.१५ अंकले बढेर दुई हजार चार सय ८८.०९ अंकमा कायम भयो।
पछिल्ला केही दिनदेखि लगातार उच्च अंकले बढेको नेप्सेमा सोमबार करेक्सन देखिएको हो। सोमबार कारोबार रकममा पनि कमी देखिएको छ।
सोमबार १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकम एक अर्ब ३२ करोड रुपैयाँले कम भएको हो। सोमबार एक सय १५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने एक सय २१ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी ६ कम्पनीको सेयर मूल्य स्थिर छ।
सोमबार तीन सय नौ कम्पनीको तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता सेयर एक लाख ७० हजार ५५९ पटक खरिद–बिक्री भयो।
बैंकिङतर्फ १.२३, विकास बैंक ०.६३, होटेल तथा पर्यटन ०.२१, लगानी ०.४७, लघुवित्त ०.५३ र निर्जीवन बिमा समूहको उपसूचक ०.०६ प्रतिशतले घट्यो।
सोमबार वित्त समूह ०.७१, जलविद्युत् १.७४, जीवन बिमा ०.०१, उत्पादन तथा प्रशोधन २.१६, म्युचुअल फन्ड ०.७८, व्यापार १.८६ र अन्य समूहको उपसूचक १.४३ प्रतिशतले बढेको छ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ भने गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.९४ प्रतिशतले घटेको छ।