नेपाली राष्ट्रिय महिला टोलीले सोमबार एसिसी एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा एक खेलअघि नै सेमिफाइनलमा स्थान बनाउने अवसर चुकाएको छ । श्रीलंकाको डाम्बुला रंगशालामा नेपालले आफ्नो दोस्रो खेलमा पाकिस्तानलाई हराउँदा सहजै अन्तिम चारको स्थान सुरक्षित गर्ने थियो । तर, एकपक्षीय खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भयो । अब नेपालले मंगलबार साबिक विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानले युएईको सामना गर्नेछ । समूह ‘ए’मा भारतले दुई खेलबाट ४ अंक जोडेको छ ।
शीर्ष स्थानमा रहेको भारतले समूह विजेता हुन नेपाललाई हराउनुपर्नेछ । नेपालमाथि सानदार जित निकालेको पाकिस्तानले रनरेटमा राम्रो बनाएको छ । नेपाल र पाकिस्तानले समान दुई खेलबाट २ अंक जोडेका छन् । रनरेटमा पाकिस्तान दोस्रो तथा नेपाल तेस्रो स्थानमा छन् । नेपालले अन्तिम चारको स्थान पक्का गर्न भारतलाई फराकिलो अन्तरले हराउनुपर्ने हुन्छ । नेपाल भारतसँग पराजित हुँदा पाकिस्तान सेमिफाइनलमा पुग्नेछ । लगातार दुई खेल गुमाएको युएई प्रतियोगिताबाट बाहिरिसकेको छ ।
पाकिस्तान नौ विकेटले विजयी
समूह ‘ए’को दोस्रो खेलमा पाकिस्तानले नेपालविरुद्ध नौ विकेटको जित निकाल्यो । नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले केवल एक विकेटको क्षतिमा ११.५ ओभरमा पूरा गरेको हो । पाकिस्तानका लागि ओपनर गुल फेरोजाले ३५ बलमा १० चौकासहित सर्वाधिक ५७ रन बनाइन् । उनी खेलकै म्यान अफ दी म्याच भइन् । फेरोजाको यो पहिलो म्यान अफ दी म्याच अवार्ड हो । ओपनर मुनिबा अली ३४ बलमा ८ चौकासहित ४६ रनमा अविजित रहिन् । फेरोजा र अलीले पहिलो विकेटका लागि ११.२ ओभरमा १०५ रनको साझेदारी गर्दै पाकिस्तानलाई जितनजिक पुर्याए । नेपालका लागि एक मात्र विकेट कविता जोशीले लिइन् ।
नेपालकी कप्तान इन्दु बर्माले पाकिस्तानविरुद्ध सात बलर प्रयोग गरेकी थिइन् । सीता रानामगर र कृतिका मरासिनीले प्रतिओभर १३ रनको औसतमा बलिङ गरे । कविता कुँवरले दुई ओभरमा १८ तथा रुविना क्षेत्रीले दुई ओभरमा १३ रन दिए । कप्तान इन्दुले तीन ओभर बलिङ गरी २६ रन दिइन् ।
नेपालको फितलो ब्याटिङ
नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन जोडेको थियो । नेपालका लागि कविता जोशीले सर्वाधिक ३१ रनको योगदान दिइन् । उनले २३ बलमा चार चौका र एक छक्का प्रहार गरेकी थिइन् । उनी अन्तिमसम्म अविजित रहिन् । पूजा महतोले २५ रन बनाउन ३२ बलमा तीन चौका हिकाईन् । कविता र पूजाले छैटौँ विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए । ओपनर सीता रानामगरले ३० बलमा तीन चौकाको सहयोगमा २६ रन जोडिन् । अनुभवी खेलाडीद्वय सीता रानामगर र रुविना क्षेत्री रनआउट भएका थिए ।
युएईविरुद्धको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेकी ओपनर सम्झना खड्का पहिलो ओभरमै ४ रनमा आउट भइन् । उनी खराब सट खेल्दा फतिमा सनाको ओभरमा आउट भइन् । कविता कुँवरले १३ बलमा ३ चौकासहित १३ रन जोडिन् । कप्तान इन्दु दुई बलमै सदियाकै ओभरमा बोल्ड भइन् । पाकिस्तानका लागि सादिया इकबालले दुई विकेट लिइन् ।
सक्दो प्रयास गर्यौँ
इन्दु बर्मा, कप्तान, नेपाल
पाकिस्तानविरुद्ध खेलमा जित निकाल्न सक्दो प्रयास गरेका थियौँ । यद्यपि, खेलमा कुनै योजना सफल भएन । अहिले अनुभवी टोलीविरुद्ध सिक्दै छौँ । यो युवा खेलाडीका लागि सिक्ने समय पनि हो । युवा खेलाडीले ब्याटिङमा राम्रो गरे । अनुभवी खेलाडीबीच तालमेल नमिल्दा रनआउटको सिकार भएको हो । पाकिस्तान बलियो टोली हो । भारतसँगको खेलमा राम्रो खेल्ने प्रयास गर्छौँ ।
पाकिस्तानलाई रनरेट आवश्यक थियो
निदा दार, कप्तान, पाकिस्तान
नेपालविरुद्ध जित आवश्यक थियो । जित मात्र नभएर रनरेट पनि सुधार गर्नुपर्ने थियो । खेलमा सबै योजना सफल भएजस्तो लाग्छ । हामीले रनरेटसमेत राम्रो गरेका छाँै । यसले आगामी खेलमा सहज हुनेछ । नेपालसँगको खेलमा सबै खेलाडीले राम्रो खेले । आक्रामक रूपमा ब्याटिङ गर्ने नै योजना थियो । दुवै ओपनरले नेपालको कमजोर बलिङ र फिल्डिङको फाइदा उठाएका छन् ।