प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको पक्षमा रहेर संविधान संशोधन गरिने स्पष्ट पारेका छन्।
प्रतिनिधिसभामा आफ्नो विश्वासको मतसम्बन्धी प्रश्नमा विभिन्न दलले उठाएका सवालको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आवश्यकता र जनताको मागअनुसार संविधान संशोधन हुने बताए।
‘देश र जनताको पक्षमा रहेर संविधान संशोधन हुनेछ। जनताको हितको पक्षमा, लोकतन्त्रको रक्षा र सुदृढीकरण, सुशासनको प्रवर्द्धन, विकासको काम अगाडि बढाउनका लागि संविधान संशोधन गरिन्छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले आग्रह र पूर्वाग्रहबाट बाहिर आएर सबैको सहमतिमा संविधान संशोधनको प्रयास गरिने बताए। सबैको सहमति नजुटे प्रक्रियाअनुसार संविधान संशोधन हुने उनको भनाइ छ।
‘कोही उहिलेदेखि नै संविधान संशोधन गर्नुपर्छ भनेको भनै छन्। कोही सकिँदैन भन्नुहुन्छ। कुरा हुँदै जाँदा निष्कर्षमा पुगिन्छ। देश, जनता र अग्रगमनको लागि सहमतिको प्रयास गर्दा पनि नभए प्रक्रियाबाट भए पनि संशोधन हुनेछ,’ प्रधानमन्त्री ओलीको भनाइ छ।