बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दुई ठूला दलहरू कांग्रेस र एमालेबीचको सत्तासमीकरणले संशय पैदा गरेको बताएका छन्।
उनले नयाँ बनेको सत्तागठबन्धनबाट संघीयता र संविधानमाथि नै खतरा रहेको दाबी गरे।
आइतबार हेटौँडामा आफ्नो कार्यकालको १८ महिनाको अवधिमा भएका कामको सर्वजनिकीकरण गर्दै उनले दुई ठूला दल मिल्नुले संशय र चुनौती थपेको बताए।
कांग्रेस–एमालेबीचको गठबन्धन बाहिर भनिएजस्तो संविधान संशोधन र राजनीतिक स्थिरताका लागि मात्र नभएको दाबी गरे।
‘संविधान संशोधन र स्थिरताको नाममा दुई ठूला दल मिल्नुले अहिले संशय पैदा भइरहेको छ। यी दुवै काम यसअघिकै सरकारहरूको नेतृत्वबाट पनि सम्भव थियो, तर कांग्रेस र एमालेलाई कसले र किन मिलायो यसमा शंका गर्ने ठाउँ छ,’ उनले भने।
एकाएक कांग्रेस र एमालेबीच गठबन्धन किन भयो ? राजनीतिक अस्थिरता पहिले पनि थियो । त्यतिवेला किन स्थिरताको विषयमा दुई ठूला दलहरूले सोचेनन् ? भन्दै उनले प्रश्न गरे ।
वर्तमान गठबन्धन सरकारका कारण संघीयता, प्रदेश सरकार रहन्छ–रहन्न भन्ने कुरामा द्विविधा भएको मुख्यमन्त्री जम्कट्टेलको दाबी छ। उनले प्रधानमन्त्री ओलीमा संघीयता र प्रदेश चाहिँदैन भन्ने चिन्तन रहेको आरोप पनि लगाए।
विगतमा प्रधानमन्त्री भएकै वेला ओलीले प्रदेश पनि कहीँ सरकार हो? सरकार त संघमा मात्रै छ भन्दै आफूहरूलाई झपारेको दाबी गरे। जति पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा संघीयता कार्यान्वयन र प्रदेश सरकारका अधिकार हस्तान्तरणबारे छलफल भयो त्यो कुरा ओली नेतृत्वको सरकारमा नहुने उनले ठोकुवा गरे।
मुख्यमन्त्री जम्कट्टेलले अबको सरकारका कारण संघीयता, प्रदेश सरकार, समानुपातिक समावेशिता र धर्मनिरपेक्षताजस्ता उपलब्धिहरू खतरामा पर्ने हुन् कि संघीयता र संविधानको पक्षधरहरू सशक्त ढंगबाट अगाडि बढ्नुपर्ने वेला आएको बताए।