हेटौँडा सहरलाई साइकलसँग जोड्नुका साथै तीर्थस्थल र स्थानीय बस्तीलाई परिचित गराउन शनिबार आयोजना गरिएको हेटौँडा कोरा साइकल च्यालेन्ज कार्यक्रम सम्पन्न भएको छ।
सन् २०१८ देखि साइकल महोत्सवको रूपमा हेटौँडा कोराको आयोजना हुँदै आएको छ। हेटौँडा राइडर्स क्लबका अध्यक्ष विकास ताम्राकारले हेटौँडा सहरलाई साइकलसँग जोड्नुका साथै तीर्थस्थल र स्थानीय बस्तीलाई परिचित गराउन कार्यक्रमको आयोजना गरेको बताए।
उनका अनुसार करिब ५० किलोमिटर दूरीको कोरा साइकल च्यालेन्जमा दुई सय ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो।
हेटौंँडा राइडर्स क्लबले विगत सात वर्षदेखि यो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। कोरा साइकल च्यालेन्जमा १२ वर्ष उमेर समूहमाथिका महिला तथा पुरुषहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
कार्यक्रममा मकवानपुरसहित छिमेकी जिल्ला चितवन, बारा, पर्सा र काठमाडौंका साइकलयात्रीहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रमको हेटौँडा उपमहानगरपालिका– २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन र नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र घिमिरेले संयुक्त रूपमा उद्घाटन गरेका थिए।
हेटौँडा राइडर्स क्लबको आयोजनामा भएको कार्यक्रमअन्तर्गत हेटौँडाको प्रमुख धार्मिकस्थल भुटनदेवी मन्दिरबाट सुरु भएको साइकल यात्रा हेटौँडा बजार, सानोपोखरा, वनसखण्डी, जलेश्वर महादेव मन्दिर, चौकीटोल, सामरी, शिखरकटेरी, सालकपार्क, एक्लेखेत, हटिया हुँदै बुद्धचोकमा आएर समापन भएको थियो।