‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक

शनिबार, ५ साउन, २०८१
डिजिटल संस्करण

नेपालको राजनीतिक इतिहासमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको भूमिका समेटिएको ‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक गरिएको छ। 

‘द राइजिङ नेपाल’का पूर्वसम्पादक डा. मुक्ति रिजालले लेखेको उक्त पुस्तकको आज पूर्वप्रधानमन्त्री भट्टराई, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र रास्वपा नेत्री सुमना श्रेष्ठले संयुक्त रूपमा विमोचन गरे।

पुस्तकमा माओवादी आन्दोलनमा डा. भट्टराईको भूमिका, माओवादी छाडेपछिको अवस्था र वैकल्पिक शक्ति निर्माणको अभियानसम्मका गतिविधि विभिन्न १७ वटा आलेखमा समेटिएका छन्। 

सो अवसरमा डा. भट्टराईले आफू फरक पृष्ठभूमिबाट आएको भए पनि सोच, विचार र शैलीले नयाँ रहेकाले पुरानाको कार्यशैलीको सम्मान गर्दै नयाँमा टेकेर राजनीतिक दल अगाडि बढ्नुपर्ने बताए। 

‘म माओवादीबाट एक्लै निस्किएको हो । वैकल्पिक शक्ति निर्माण गर्ने सकारात्मक सोचका साथ अघि बढेको हो,’ अध्यक्ष डा भट्टराई भने, ‘मैले कसैलाई छाडेको पनि होइन, गाली गरेको पनि होइन ।’ वैकल्पिक पार्टी बन्न वैकल्पिक सोच र कार्यक्रम आवश्यक पर्नेमा उनले जोड दिए।  

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा दुई ठूला दल सरकार सञ्चालनमा केन्द्रित हुँदा प्रतिपक्षमा रहेका दलहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए। वर्तमान सरकारलाई गलत बाटोमा हिँड्ने छुट नभएको उल्लेख गर्दै उनले भने, ‘सरकारले गलत काम गरेमा कांग्रेस मौन बस्दैन।’

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी जनयुद्धको परिकल्पनाकारका रूपमा रहेको बताउँदै उनीद्वारा उठाइएका मुद्दालाई सिद्धान्तको उचाइबाट हेर्न र विश्लेषण गर्न सक्ने क्षमता नेता भट्टराईसँग भएको बताए।

नेपालका राजनीतिक दल इमानदार हुने हो भने मुलुकलाई समृद्ध बनाउन सकिने उल्लेख गर्दै संसद्का दुई ठूला दल सम्मिलित सरकारले जनताका समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए। 

‘राज्य स्रोतको दोहन नगर्ने र दलाल पुँजीवादबाट मुक्त पार्टी बनाऔँ,’ महासचिव भुसालले भने, ‘त्यस्तो पार्टीले मात्र समाजवादको यात्रा अघि बढाउन सक्छ।’ 

रास्वपा नेत्री पूर्वशिक्षामन्त्री श्रेष्ठले आफ्नो पार्टी नयाँ सोचका साथ अघि बढ्ने बताए। अंग्रेजी भाषामा लेखिएको सो पुस्तक एक सय २५ पृष्ठको छ। उक्त पुस्तकको मूल्य तीन सय ५५ रुपैयाँ तोकिएको छ। (रासस)

सुझावित समाचार