ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले संखुवासभाको विकासका लागि ऊर्जा क्षेत्र महत्वपूर्ण भएको बताएका छन् । संखुवासभा–काठमाडौं पत्रकार संघ (एसकाज)ले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा संखुवासभाबाट निर्वाचित मन्त्री खड्काले आज स्रोत र साधनले धनी संखुवासभाको आर्थिक विकासमा ऊर्जा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले आफ्नो मुख्यप्राथमिकतामा संखुवासभाको विकास रहेको समेत बताए ।
उनले अपर अरुण जलविद्युत आयोजनामार्फत उक्त क्षेत्रका जनताको आर्थिक उन्नति गर्न सकिने समेत उल्लेख गरे । ‘संखुवासभाबासीको शिर निहुरिन नदिने गरी काम गर्नुछु, म धेरै आशा बाँड्दिन संखुवासभाको विज्ञतालाई प्रयोग गरी परिणाम दिने गरी काम गर्नेछु”,उनले भने ।
नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले आफ्नो विज्ञता प्रयोग गरी ऊर्जा क्षेत्रको विकासमा ध्यान दिन मन्त्री खड्कालाई आग्रह गरे । उनले संखुवासभाको छविलाई उच्च राख्न मन्त्री खड्कालाई शुभकामना समेत दिए ।
संखुवासभा-काठमाडौँ जर्नालिष्ट एसोसिएसनका अध्यक्ष शंकर खनालले स्रोत साधनले अत्यन्त धनी संखुवासभाको आर्थिक विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले ऊर्जा र पर्यटन क्षेत्रलाई सँगै जोडेर अगाडि बढ्नसके संखुवासभाको विकासले फड्को मार्नसक्ने उल्लेख गरे ।