उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले द्वारिकाज् होटेलकी संस्थापक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्। आज बिहान द्वारिकाज् होटेल पुगेका उनले स्व. श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
सो अवसरमा अर्थमन्त्री पौडेलले नेपालको पर्यटन क्षेत्रमा स्व. श्रेष्ठले पुर्याएकाे योगदानको प्रशंसा गर्दै उनकाे योगदान नेपालको पर्यटन क्षेत्रको इतिहासमा सदा अविस्मरणीय रहने बताए। उनले स्व. श्रेष्ठका परिवारजनप्रति समवेदनासमेत व्यक्त गरेका छन्।
श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको थियो। लामो समयदेखि आन्द्रामा देखिएको संक्रमणको उपचार गराइरहेकी श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो। स्व. श्रेष्ठको आजै पशुपति क्षेत्रमा रहेको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिने उनकाे पारिवारिक स्रोतले जनाएको छ।