ताप्लेजुङको तोक्पेगोलामा पर्यटन तथा चौँरी महोत्सव हुने भएको छ। महोत्सवको लागि तयारी तीव्र रूपमा गरिएको छ। जिल्लाको दुर्गममा रहेको बस्ती मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलामा यही साउन २५ देखि २८ गतेसम्म आयोजना गर्ने गरी ‘तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव–२०८१’ को तयारी तीव्र भइरहेको बताइएको छ।
पापुङको हिमाली गाउँ तोक्पेगोलालाई विश्वसामु प्रचारप्रसार गरी पर्यटकहरू भित्र्याउने उद्देश्यले हिमाली तोक्पेगोला युथ क्लब र मिक्वाखोला–५ पापुङको आयोजनामा महोत्सव हुने भएको हो। पर्यटकीय क्षेत्र तोक्पेगोलाको प्रचारप्रसार तथा चौँरीको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको तयारी गरिएको वडाध्यक्ष तथा आयोजक समितिका अध्यक्ष ग्यान्जे शेर्पाले बताए।
मूल आयोजक समितिका अध्यक्ष शेर्पाले पर्यटन प्रवर्द्धन साथै स्थानीय संस्कार संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सवको तयारी गरिएको बताए। महोत्सवको मुख्य आकर्षणका रूपमा चौँरी तथा भेडा प्रदर्शनी, पापुङ तोक्पेगोला क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत ढोक्प्या जातिको संस्कृति प्रदर्शनी रहने बताइएको छ।
यस्तै, सो क्षेत्रमा रहेको सोदु पोखरी, साजु पोखरी, भूत पोखरी, तीन पोखरी, पाँचपोखरी, राते पोखरी, रूपा पोखरी, लाम पोखरीलगायत सयौँकाे संख्यामा रहेका कञ्चन पानी रहेका सुन्दर पोखरी तथा तालतलैया अवलोकन गर्न सकिने अध्यक्ष शेर्पाले बताए।
मिक्वाखोला गाउँपालिका क्षेत्रअन्तर्गत नै रहेको हिलिमा झरना र फुङ्फुगे झरनाको अवलोकन गर्न पाइनेछ। पदमचाल (केन्जो), बिख्मा, पाँच औँले, यार्चागुम्बालगायतका बहुमूल्य जडीबुटीको अवलोकनसमेत गर्न पाइने वडाध्यक्ष तथा आयोजक समितिका अध्यक्ष शेर्पाले जानकारी दिए।
सीमान्तकृत ढोक्प्या जातिको पृथक पहिचान र मौलिक संस्कृति, भेषभूषा र रहनसहनसँग साक्षात्कार गर्ने अवसर प्राप्त हुने बताइएको छ। लोप हुन लागेको याक तथा चौँरी, भेडाको गोठलाई प्रचार गरी उत्साह गर्न प्रेरितसमेत गरिने महोत्सवको उद्देश्य रहेको छ।