विराटनगर भन्सारको राजस्व संकलन पाँच वर्षदेखि निरन्तर घटिरहेको छ । विराटनगर भन्सारले गत आर्थक वर्षमा लक्ष्यभन्दा आधा मात्र राजस्व संकलन गरेको छ । भन्सारले गत आर्थिक वर्ष ०८०/८१ मा ३० अर्ब ३४ करोड अर्थात् लक्ष्यको ५९.७१ प्रतिशत मात्र राजस्व संलकन गरेको हो । गत आर्थिक वर्ष भन्सारले ५० अर्ब ८१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले गत वर्षको राजस्व असुलीमा आर्थिक मन्दीको प्रत्यक्ष असर परेको बताए । उनले भने, ‘खाने–लगाउने उमेर समूहका युवा धेरै बिदेसिएका छन्, आर्थिक मन्दीको प्रभाव पनि परेको छ । यसैले व्यापारिक र औद्योगिक मालवस्तुको आयात घट्दो भएकाले राजस्व असुलीमा असर परेको हो ।’
यसैगरी, विराटनगर भन्सारले आर्थिक वर्ष ०७९/८० मा ६० अर्ब ६५ करोड ६२ लाख असुल गर्ने लक्ष्य रहेकोमा ३३ अर्ब १३ करोड ६६ लाख राजस्व संकलन गरेको थियो । आर्थिक वर्ष ०७८/७९ मा ४९ अर्ब ६५ करोड ९५ लााख लक्ष्य रहेकोमा ८१ प्रतिशत ४० अर्ब ४२ करोड ७७ लाख राजस्व संकलन गरेको थियो ।
आव ०७५/७६ देखि विराटनगर भन्सारको राजस्व असुली निरन्तर गिर्दाे रहेको छ । भन्सारले ०७५/७६ मा लक्ष्यको ९० प्रतिशत, ०७६/७७ मा लक्ष्यको ५८ प्रतिशत र ०७७/७८ मा लक्ष्यको ८८ प्रतिशत राजस्व संकलन गरेको थियो । आव ०६८/६९ देखि ०७४/७५ सम्म भने सन्तोषजनक थियो ।