निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विषयगत शिक्षकलाई सम्मान गरेको छ।
शुक्रबार हेटौँडामा कार्यक्रमको आयोजना गरेर प्याब्सन मकवानपुरले जिल्लामा रहेका ३६ वटा संस्थागत विद्यालयका २५७ जना विद्यार्थीलाई सम्मान गरेको हो।
प्याब्सनले सम्मान गरेका विद्यार्थीले एसइई परीक्षामा ३.६ भन्दा माथि जिपिए हासिल गरेको मकवानपुरका अध्यक्ष विनोद सुवेदीले जानकारी दिए।
कार्यक्रममा जिल्लामै ४.० जिपिए प्राप्त गरेर सर्वोत्कृष्ट हुन सफल रीतिका छत्कुली र ३.९५ जिपिए ल्याई छात्रतर्फ उत्कृष्ट हुन सफल लखिन्द्र मुखिया विनलाई विशेष सम्मान प्रदान गरिएको अध्यक्ष सुवेदीले बताए।
जिल्ला प्रथम रीतिका हेटौँडा– २ मा रहेको बालजागृति इंग्लिस बोर्डिङ स्कुल र लखिन्द्र थाहा नगरपालिका बज्रबाराहीमा रहेको सरस्वती विद्या मन्दिर इंग्लिस बोर्डिङ स्कुलबाट एसइईमा सहभागी भएका थिए।
यस्तै ३.६ जिपिएमाथि ल्याएर सम्मानित हुनेहरूमा बालजागृति बोर्डिङका ३४, आधुनिक राष्ट्रिय माविका ३०, नवोदय शिशु सदनका २२, भुटानदेवी माविका १५, ज्ञानदीप माविका १५, ज्ञानोदय बालबाटिकाका नौजनालगायतका विद्यार्थी छन्।
कार्यक्रमकी प्रमुख अथिति हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले समग्र जिल्लामै एसइईको नतिजा सुखद नरहेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले शिक्षाको सुधारका लागि सर्वपक्षीय पहल आवश्यक रहेकोमा जोड दिइन्।
स्थानीय सरकार शिक्षामा सुधारका योजनासहित अगाडि बढिरहेको बताउँदै उनले सबैलाई हातेमालो गरेर अगाडि बढ्न आग्रह गरिन्।