सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका तीन जना यात्रुको शव भारतीय भूमिमा फेला परेको बताइएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोली उक्त शव फेला पारेको र एक शव हिजोनै नेपाल ल्याइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
भारतको चम्पारण नगाहास्थित नारायणी नदीमा सो शव भेटिएको थियो । शवको पहिचान भइसकेको छैन यद्धपी सो शव सिमलताल पहिरोमा बेपत्ता भएको यात्रु भएको अनुमान गरिएको छ। चितवनको सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका ६२ मध्ये अहिलेसम्म २३ जनाको शव फेला परेको छ । ३९ जनाको अवस्था अझै अज्ञात रहेको चितवन प्रशासनले जनाएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार त्रिशूलीमा खसेको बस अझै पत्ता लाग्न सकेको छैन ।सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता र बसको खोजीका लागि सशस्त्र प्रहरी, नेपाली सेना, प्रहरी, गोताखोरका साथै आधुनिक किसिमको वाटरड्रोन (सोनार), आकाशबाट पनि ड्रोन क्यामेरा, र्याफ्टिङ बोट, मोटर बोट, बस भेट्नका लागि ठूलो चुम्बक र फलामको हुक (एंकर)को प्रयोग गरिएको छ । किनारको वारिपारि मोटरबोट र दूरबिनको प्रयोगमार्फत पनि खोजी भएको छ । बेपत्ताको शव सीमाछेउछाउमा पनि फेला पर्न थालेपछि चितवन प्रशासनले भारतको चम्पारण जिल्लाका डिएमसँग खोज तथा उद्धार कार्यमा समन्वय गरेको छ । यद्यपि, चितवनका प्रमुख जिल्ला अधिकारी यादवले शव भेट्न र भेटिए पनि सनाखत हुन कठिन भएको बताउँदै आएका छन् ।
काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एन्जल डिलक्स बस २८ असारमा भरतपुर महानगर– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशुली नदीमा खसेका थिए । बसमा सवार ६५ मध्ये तीनजना पौडिएर बाँचे पनि ६२ बेपत्ता भएका थिए ।