बाढीबाट ज्यान जोगाउन हरेक वर्ष पोकापन्तुरा बाँधेर बस्छन् खापटोलवासी

शुक्रबार, ४ साउन, २०८१
डिजिटल संस्करण
बाढीबाट ज्यान जोगाउन हरेक वर्ष पोकापन्तुरा बाँधेर बस्छन् खापटोलवासी

मोरङको बुढीगंगा गाउँपालिका– १ खापटोलका अर्जुन ऋषिदेव र उनकी श्रीमती सावित्री ऋषिदेव ।

मोरङको बुढीगंगा गाउँपालिका– १ खापटोलका अर्जुन ऋषिदेव र उनकी श्रीमती सावित्री ऋषिदेव हरेक वर्ष वर्षा लाग्नासाथ पोकोपन्तुरो बाँधेर तयारी अवस्थामा बस्छन् । कतिखेर नजिकैको सिंघिया खोलामा उर्लेर बाढी आउँछ, घरबारी सबै डुबाउँछ र आफूहरूलाई पनि बगाएर लान्छ भन्ने उनीहरूलाई सधैँ त्रास हुन्छ । हरेक वर्ष उनीहरू बाढी पसेपछि पोकोपन्तुरो बोकेर विस्थापित हुन बाध्य हुन्छन् । बाढीको कहरले दिएको दुःख सुनाउँदै उनीहरू भन्छन्, ‘हरेक वर्ष बाढीले घर डुबाउँछ, यसैले ज्यान बचाउन वर्षा लागेपछि कतिखेर भाग्नुपर्छ भनेर बस्छौँ ।’

खापटोलमा बस्ने ६० घरपरिवार ऋषिदेवहरू सबै वर्षा लाग्नासाथ घरमा बाढी पस्ने त्रासले पोकोपन्तुरा बाँधेर तयाारी अवस्थामा बस्ने गर्छन् । नजिकै रहेको सिंघिया खोलाको बाढीले धेरैपटक उनीहरूको घर बगाइदिएको छ । खापटोलमा फलाम पिटेर गुजारा चलाउँदै आएका अनिल लोहारको घर ६ पटक बाढीले बगाइसकेको छ । घरसँगै उनले बनाएका फलामका औजार पनि बगाएर लगिदिँदा अनिल कंगालमाथि झन् कंगाल हुने गर्दछन् । ‘कसैले हाम्रो घर पनि बनाइदिँदैनन् अनि खोलामा बाँध पनि कहिल्यै बाँधिदिँदैनन्,’ उनले आक्रोश पोखे ।

खापटोलका मनोज ऋषिदेव सरकारले खोलामा तटबन्ध निर्माण गरिदिए खापटोल मात्र नभएर तल्लो क्षेत्रका सुकुम्बासीले पनि बाढीको त्रासबाट छुटकारा पाउने बताउँछन् । तर, पटकपटक जनप्रतिनिधिलाई आफूहरूले भोग्दै आएको समस्या सुनाए पनि बाँध निर्माण गर्न चासो नदेखाएको खापटोलवासीको गुनासो छ । ‘जब वर्षा लाग्छ हामीलाई बाढीको डरले रातभरि निद्रा लाग्दैन । कतिखेर बाढी आएर घर बगाउला भनेर चिन्ता हुन्छ,’ मनोज ऋषिदेवले भने । खापटोलमा बस्ने ऋषिदेवहरू सबैजना मजदुरी गरेर गुजरा चलाउँछन् । उनीहरू सबैको घर माटाका छन् । स्थानीय माधव कोइरालाले खापटोललाई बाढीको त्रासबाट मुक्त गराउन आफूहरूले पटकपटक तटबन्ध निर्माणका लागि योजना माग गर्ने गरे पनि सुनुवाइ नभएको बताए । उनका अनुसार सिंघिया खोलामा पाँच मिटर तारजाली लगाएर ढुंगाको तटबन्ध निर्माण गरे खोपटोल बाढीको त्रासबाट मुक्त हुनेछन् । 

See More On

सुझावित समाचार