अस्ट्रेलियाको बेरोजगारी दर जुन महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ। यसअघि मे महिनामा बेरोजगारी दर चार प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस)ले बिहीबार प्रकाशित गरेको तथ्यांकले देखाएको छ।
तथ्यांकअनुसार गत मे–जुन महिनाको बीचमा कार्यरत अस्ट्रेलियालीको संख्या ५० हजार २०० ले बढेको थियो। सोही अवधिमा बेरोजगार अस्ट्रेलियालीको संख्या पनि नौ हजार ७०० ले बढ्दा बेरोजगारीदर वृद्धि भएको हो।
सहभागिता दरले काम गर्ने उमेरका अस्ट्रेलियालीको अनुपात मापन गर्दछ। जसको संख्या मे महिनामा ६६.८ प्रतिशतबाट बढेर जुनमा ६६.९ प्रतिशत पुगेको छ।
जुन महिनामा सहभागिता दर सन् २०२३ नोभेम्बरमा ६७ प्रतिशतको ऐतिहासिक उच्चभन्दा ०.१ प्रतिशत मात्र कम रहेको एबिएसका श्रम तथ्यांक प्रमुख ब्योर्न जार्विसले विज्ञप्तिमार्फत उल्लेख गरेका छन्।
समग्रमा अस्ट्रेलियामा ६ लाख आठ हजार २०० बेरोजगार व्यक्ति जुन महिनामा सक्रिय रूपमा काम खोज्दै गरेको जार्विसले जनाए। यसैगरी बेरोजगारहरू सन् २०२२ अक्टोबरमा चार लाख एक हजारले बढे तापनि कोभिड– १९ महामारीको तुलनामा एक लाख मानिस कम रहेको उनले उल्लेख गरेका छन्।
बेरोजगारी दर गत वर्ष जुन महिनाको तुलनामा ०.५ प्रतिशत बढी र सन् २०२० मार्चको तुलनामा १.१ प्रतिशतले कम रहेको छ। एबीएसको तथ्यांकअनुसार अस्ट्रेलियालीले काम गर्ने घण्टाको संख्या मे–जुन महिनाको बीचमा ०.८ प्रतिशतले बढेको छ।
बिरामी भएकाले ४.५ प्रतिशत अस्ट्रेलियालीले जुन माहिनामा सामान्य समयको जस्तो काम गर्न नसकेको जार्विसले बताएका छन्। (रासस/सिन्ह्वा)