रुपन्देहीमा आर्थिक वर्ष ०८०/८१ मा ४०२ वटा उद्योग व्यवसाय बन्द भएका छन्। आर्थिक मन्दीका कारण घरभाडा, कर्मचारी तलब, बैंक किस्ता समयमा भुक्तानी गर्न नसक्दा तीन सय ५४ उद्योग र ४७ व्यावसायिक फर्म गरी ४०२ वटा फर्मले लगतकट्टा गरेको घरेलु तथा साना उद्याेग कार्यालय रुपन्देहीका उद्योग अधिकृत नेत्रप्रसाद भुसालले जानकारी दिए ।
‘खासगरी साना उद्योगहरू जुन घरपरिवारका सदस्यहरू स्वरोजगार हुने किसिमबाट खोलिएका थिए अधिकांश तिनै उद्योगहरू बन्द भएका छन्,’ उद्योग अधिकृत भुसालले भने। यी उद्योग व्यवसाय बन्द हुँदा करिब एक हजार पाँच सयजनाको रोजगारी खोसिएको अनुमान गर्न सकिन्छ। ‘एउटा उद्योग व्यवसायमा कम्तीमा पाँचजनाले रोजगारी पाउने अवस्था रहन्छ,’ उनले भने। तीन लाखदेखि एक करोड रुपैयाँ लागत भएका अधिकांश उद्योग व्यवसाय बन्द भएको उद्योग अधिकृत भुसालले भने ।
अघिल्लो आर्थिक वर्ष ०७९/८० मा २५२ उद्योग र १५ वटा व्यवसाय गरी २८५ वटा उद्योग व्यवसाय बन्द भएकोमा गत वर्षको तुलनामा ११७ वटा बढी उद्योग आर्थिक वर्ष ०८०/८१ मा बन्द भएको घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देहीमा ८३७ उद्योग र एक हजार २८९ वाणिज्य फर्म गरी दुई हजार १२६ उद्योग व्यवसाय दर्ता छन् । दर्ता भएका ८३७ उद्योगमा दुई अर्ब ३० करोड ९४ लाख ७४ हजार ६९८ रुपैयाँ लगानी रहेको छ। त्यसैगरी, एक हजार २४४ वाणिज्य फर्ममा २० करोड ७८ लाख ६० हजार लगानी रहेको छ ।