चिनियाँ राजदूत र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

बिहिबार, ३ साउन, २०८१
डिजिटल संस्करण

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ। भेटमा चीनका तर्फबाट राजदूतले उपप्रधान एवं सहरी विकासमन्त्री सिंहलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिए।

भेटमा नेपाल र चीनबीच सहरी विकासको क्षेत्रमा के–के विषयमा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ।

‘नेपाल र चीनबीच सहरी विकासको क्षेत्रमा कुन–कुन विषयमा सहकार्य हुन सक्छ ? अहिले के भइरहेको छ भन्नेबारेमा सामान्य समीक्षा भयो,’ भेटबारे जानकारी गराउँदै सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने, ‘हामीले स्मार्ट सिटी बनाउने भनेका छौँ। स्मार्ट सिटी बनाउने क्रममा प्रविधिसँग त्यसलाई कसरी जोड्न सक्छौँ। ट्राफिक लाइट, रोड सेफ्टीजस्ता कुरामा चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा भयो। हामीले चीनसँग सिमाना जोडिएका हिमाली क्षेत्रमा १० वटा हिमाली सहर बनाउने भनेर राखेका छौँ। त्यसमा पनि चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा उहाँहरूले राख्नुभयो।’

त्यस्तै, रुकुम र जाजरकोटमा अघिल्लो वर्ष गएको भूकम्पपछिको पुनर्निर्माणमा समेत सघाउन तयार रहेको राजदूतले भेटका क्रममा बताएका थिए।

सुझावित समाचार