नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले पत्रकार महासंघको सदस्यतासम्बन्धी विवादको समाधान राजनीतिक दलको प्लेटफर्मभित्रबाट नभई पत्रकार महासंघकै संरचनाभित्रबाट खोजिनुपर्ने बताएका छन्।
‘राजनीतिक दलको प्लेटफर्मबाट समाधान खोज्नु भनेको व्यावसायिकतालाई अझ कमजोर बनाउँदै जानु हो,’ पूर्वअध्यक्ष गाउँलेले क्रियाशील पत्रकारहरूको साझा मोर्चाको अन्तर्क्रिया कार्यक्रममा भने।
बुधबार मधेश मिडिया हाउसमा आयोजित अन्तर्क्रियामा मोर्चाका तर्फबाट श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीले अवधारणा प्रस्तुत गरेका थिए। छलफलमा सहभागी हुँदै पूर्वअध्यक्ष गाउँलेले बलियो गरी प्रश्न गर्नुपर्ने पत्रकारिता क्षेत्र प्रश्न गर्नै कमजोर हुनुपर्ने स्थिति हुन नहुने विचार राखे।
‘पत्रकारको संस्थाको बारेमा राजनीतिक दलबाट समाधान खोजिन्छ भने त्यही पेसामाथि प्रश्न उठ्दैन?, गैर पत्रकारहरूको यति बिग्न चासो किन ?' गाउँलेको प्रश्न थियो।
मोर्चाका संयोजक योगेन्द्रप्रताप शाहीको अध्यक्षतामा भएको अन्तर्क्रियामा पूर्वसभापति गाउँलेले आफ्नै संरचनाभित्रबाट समाधान खोज्दा सदस्यताको विवाद केही घण्टाभित्रै सुल्झिने र निर्वाचन पनि सहजै सम्पन्न गर्न सकिने बताए। उनले राज्यका महत्त्वपूर्ण संरचना कमजोर गर्ने डिजाइनअन्तर्गत यसो भएको हुन सक्ने आशंका व्यक्त गरे।
सुर्खेत साधारणसभाले बनाएको शुद्धीकरण समितिका सदस्य धर्मेन्द्र कर्णले वर्तमान केन्द्रीय समितिले शुद्धीकरण समिति बनाएर समितिकै अधिकार अपहरण गरेको आरोप लगाए।
‘६ महिनाअघि नै सदस्यताबारे फाइनल गरेर मात्र महाधिवेशन गर्ने विधानमा व्यवस्था छ, तर त्यो थाती राखेर महाधिवेशन गर्नु अवैधानिक हो,’ पूर्वसचिवसमेत रहेका कर्णले भने।
प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डेले ठूला संगठनका नेता र अध्यक्षमण्डलको स्वार्थका कारण महासंघ संकटमा परेको आरोप लगाए।
पत्रकार महासंघका पहिला महिला उपाध्यक्ष राधा बुढाथोकीले महासंघको वर्तमान कार्यशैलीले आफ्नै पेसाप्रति गम्भीर प्रश्न उठेको भन्दै चिन्ता व्यक्त गरिन्। बाइलाइन लेख्ने पत्रकारलाई मात्र सदस्यता दिनुपर्नेमा कार्यकर्ता भर्तीकेन्द्र बनाइनु दुःखद भएको उनको भनाइ छ।
मोर्चाका तर्फबाट अभियन्ता जैसीले पेस गरेको कार्यपत्रमा महासंघको सदस्यता, महासंघको पुनर्संरचना, साना तथा स्वरोजगार मिडिया, श्रमजीवीले भोगेका श्रम समस्याबारे चर्चा गरिएको छ।