मुगुका पाटनहरूमा यार्सा टिप्न पुगेको वेला लेक लागेर मृत्यु भएका र बिरामी भएकाहरूको परिवारलाई टेवा नामक संस्थाले राहतस्वरूप अत्यावश्यक सामग्रीहरू सहयोग गरेको छ।
गत वैशाखदेखि असार मसान्तसम्म यार्सा टिप्न गएका वेला बिरामी भएर मृत्यु भएका चारजनाका परिवार र बिरामी परेका २७ जनाको परिवारलाई दैनिक उपभोग्य, लत्ताकपडालगायतका सामग्री वितरण गरिएको टेवाको मुगुस्थित साझेदार संस्था महिला अधिकार केन्द्रकी अध्यक्ष सुकमाया शाहीले जानकारी दिइन्।
यार्सा पाटनमा छायानाथ रारा नगरपालिका– १० का एक र वडा नम्बर १२ का तीन युवाको मृत्यु भएको थियो भने २७ जना बिरामी परेका थिए। घरका कमाउने युवाको मृत्यु र बिरामी हुँदा यो सिजनमा प्रभावित परिवार यार्सा टिप्न र कमाउनबाट वञ्चित भएकाले राहत उपलब्ध गराएको महिला अधिकार केन्द्र मुगुकी अध्यक्ष शाहीले बताइन्।
संस्थाले चामल ३० केजी, दाल एक केजी, खानेतेल एक लिटर, नुन चार केजी, चिउरा एक केजी, फाइवर सिरक, डसना, तन्ना, सिरानीलगायतका सामग्री वितरण गरेको हो। मृतकका परिवारलाई १२ हजार रुपैयाँसहित दैनिक उपभोग्य वस्तुहरू दोब्बर परिमाणमा वितरण गरिएको शाहीले बताइन्।