प्रतियोगितामा उपत्काका २७ विद्यालयका कक्षा १० सम्म अध्ययनरत ४० जना विद्यार्थीकाे सहभागिता
काठमाडौंको मध्यबानेश्वरमा रहेको भ्याली भ्यु स्कुलमा कविता वाचन र कविता प्रतियोगिता गरी भानुजयन्ती मनाइएको छ । २११औँ भानुजयन्तीका अवसरमा सत्रौँ उपत्यकाव्यापी अन्तरमाध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगितालगायत गतिविधि गरी विद्यालयले भानुजयन्ती मनाएको हो ।
विद्यालयले आयोजना गरेको भानुजन्तीका अवसरमा वरिष्ठ साहित्यकार प्राडा वासुदेव त्रिपाठी, कवि तथा भानु प्रतिष्ठानका अध्यक्ष डा. नवराज लम्साललगायतका कविहरूको सहभागिता रहेको थियो । कार्यक्रममा डा. लम्सालले कविता वाचन गरेर विद्यार्थीलाई सुनाएका थिए।
विद्यार्थीले पनि भानुभक्तमा आधारित कविता, संस्कृति गीतलगायत प्रस्तुतिहरू प्रदर्शन गरेका थिए । कविता वाचन गर्दै डा. लम्सालले विद्यार्थीहरूलाई साहित्य सिर्जना गर्न विद्यालयमा गरिने गतिविधिले सहयोग गर्ने बताए । ‘किताबी ज्ञान मात्रै भएर हुँदैन, विद्यार्थीमा अन्य रचनात्मक प्रतिभा पनि हुनुपर्छ,’ उनले भने, ‘विद्यालयहरूले आयोजना गरेका गतिविधिले विद्यार्थीलाई साहित्यको बाटो डोर्याउन सहयोग पुर्याएको छ ।’
भ्याली भ्यु स्कुलले आयोजना गरेको विद्यालयस्तरीय कविता प्रतियाेगितामा युनाइटेड एकेडेमी, इमाडोलकी छात्रा आराध्या पराजुलीले प्रथम स्थान हासिल गरेकी छिन् । कविता प्रतियोगितामा द्वितीय पुरस्कार कान्ति भैरव गुरुकुल स्कुल गोकर्णेश्वरका पुसप खरेल, तृतीय पुरस्कार पाठशाला फाउन्डेसन नेपाल बागडोलका समिरन चालिसे र चतुर्थ पुरस्कार डियरवाक स्कुल सिफलका अनुश्री आचार्यलाई प्रदान गरिएकोे छ ।
प्रतियोगितामा उपत्काका २७ विद्यालयका कक्षा १० सम्म अध्ययनरत ४० जना विद्यार्थीले भाग लिएको भ्याली भ्यु स्कुलका प्रधानाध्यापक सुभाषचन्द्र भण्डारीले बताए । उनले विद्यालयले आयोजना गरेको यस प्रकारको कार्यक्रमले विद्यार्थीलाई साहित्यिक बाटोमा अग्रसर हुन र प्रतिभा उजागर गर्न सहयोग पुर्याउने बताए । विद्यालयले १७ वर्षदेखि भानुजयन्तीको असरमा यसरी नै कविता प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।