पूर्वीनवलपरासीको कावासोतीमा पुलमुनि एकजना पुरुषको शव फेला परेकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज बिहान एकजना पुरुषको शव भेटिएको हो । कावासोती १४ र १७ को सिमानामा पर्ने अघरीघाट पुलमुनि मृत अवस्थामा शव फेला परेकाे छ ।
कावासोती– १७ ढोकीनिवासी २७ वर्षीय डिल्लीराम महतो हिजोदेखि घरबाट निस्केको र आज बिहान पुलमुनि मृत भेटिएको स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले अहिले घटनाको मुचुल्का तयार पारी शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिरहेको छ ।
उनको मृत्युको कारण खुलेको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ । यद्यपि, उनको पुलबाट खसेर मृत्यु भएको अनुमान गरिएको छ । तर, यसको स्पष्ट प्रमाण भेटिएको छैन ।