सहकारी छानबिन समितिले गर्‍यो पूर्वसचिवहरूसँग छलफल

पूर्वगृहमन्त्री लामिछानेलाई बयानका लागि बोलाउने तयारी

बुधबार, २ साउन, २०८१
डिजिटल संस्करण

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले मंगलबार पूर्वमहालेखापरीक्षक एवं सहकारी विभागका पूर्वरजिस्ट्रार टंकमणि शर्मा, सहकारी मन्त्रालय पूर्वसचिव गोपीनाथ मैनाली, पूर्वसचिव डा. दामोदर रेग्मीसँग छलफल गरेको छ ।

सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी संकटलगायत विभिन्न संरचनाहरूको स्थापनालगायत संरचनाको कानुनी एवं व्यावहारिक अभ्यास र अनुभवको सम्बन्धमा सहकारी क्षेत्रका विज्ञका रूपमा महत्वपूर्ण छलफल भएको समिति सभापति सूर्य थापाले बताए ।

बैठकले आवश्यक कागजात मागिएका निकायसँग सम्पर्क व्यक्तिसहित फलोअप गर्ने, देशभरि राम्रो सञ्चालन भइरहेका सहकारीसँग प्रतिनिधिमूलक छलफल गर्ने, विभिन्न निकायसँग क्रस डिस्कसन मिटिङ र सहकारी संस्थाहरूका लेखापरीक्षकहरूको अनुभवमा आधारित छलफल गर्ने निर्णय पनि गरेको छ ।

समितिले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग सहकारी बचत अपचलनका सम्बन्धमा सोधपुछ गर्ने भएको छ । सभापति थापाका अनुसार समितिको बैठकले विभिन्न व्यक्तिसँग गरिने सोधपुछको प्राविधिक तयारी र व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

सोधपुछको सूचीमा कारागारमा रहेका सहकारी सञ्चालक तथा सहकारीको बचत अपलचन गर्ने कम्पनीका पदाधिकारी पनि छन् । गोरखा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशकका रूपमा लामिछानेसँग सोधपुछ हुन लागेको हो । 

सुझावित समाचार