आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति चयन गरेका छन् । ट्रम्पले ओहायो राज्यका जेम्स डेभिड (जेडी) भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार छानेका छन् । अमेरिकामा राष्ट्रपतीय उम्मेदवारले चुनावअघि आफूले चाहेको व्यक्तिलाई उपराष्ट्रपति चयन गर्न सक्छन् । राष्ट्रपतीय उम्मेदवारले निर्वाचन जिते उनका उपराष्ट्रपति उम्मेदवार स्वतः निर्वाचित हुन्छन् ।
राष्ट्रपतीय उम्मेदवारले उपराष्ट्रपति चयन गर्न आफ्नो चुनावी जितलाई सघाउने र विचार तथा कार्यशैली मिल्ने व्यक्तिको चयनमा जोड दिन्छन् । विशेषतः राष्ट्रपति उम्मेदवारले उपराष्ट्रपति चयन गर्दा आफ्नो प्रभाव कम भएकोजस्तो लाग्ने तप्कामाथि पकड भएको व्यक्तिलाई उच्च प्राथमिकता दिन्छन् । हाल चुनावमा उठेका दुवै अमेरिकी राष्ट्रपति उम्मेदवार वृद्ध भएको बहस तातेका वेला ट्रम्पले ३९ वर्षका युवा भान्सलाई उपराष्ट्रपति चयन गरी युवा वर्गलाई आकर्षित गर्न खोजेका हुन सक्छन् । यद्यपि विचारका हिसाबमा भने भान्स ट्रम्पजस्तै वा अझ बढी चरम दक्षिणपन्थी भएको विश्लेषण गरिन्छ ।
राष्ट्रपतिले दिएको जिम्मेवारी वहन गर्नेबाहेक अमेरिकामा उपराष्ट्रपतिको खासै भूमिका हुँदैन । तर, राष्ट्रपतिको निधन भएमा वा शारीरिक वा मानसिक रूपमा काम गर्न नसक्ने भएमा उपराष्ट्रपतिले नै बाँकी कार्यकाल राष्ट्रपति बन्ने प्रावधान छ । त्यसबाहेक धेरै अवस्थामा उपराष्ट्रपति भावी चुनावमा राष्ट्रपतीय उम्मेदवार बन्ने गरेको इतिहास छ । हालका अमेरिकी राष्ट्रपति जो बाइडेन पनि बाराक ओबामाको शासनमा उपराष्ट्रपति थिए ।
ओहायोको साधारण परिवारमा जन्मेका भान्सले अमेरिकी सेनामा सन् २००३ देखि २००७ सम्म काम गरेका थिए । सो क्रममा इराकमा युद्ध पनि लडेका थिए । त्यसपछि उनले येल ल स्कुलबाट ग्य्राजुएसन गरे । पेपालका सहसंस्थापक पिटर थियलको ‘भेन्चर क्यापिटल’ फर्म मिथ्रिल क्यापिटलमा काम गरे । सन् २०१६ मा ट्रम्प चुनाव लड्ने क्रममा भान्स ट्रम्पका कटु आलोचक थिए । भान्सले आफूलाई ‘नेभर ट्रम्प’ समूहको भन्ने गर्थे ।
तथापि पछि उनी ट्रम्प समर्थकमा बदलिए । उनी ट्रम्पकै समर्थनमा ओहायोबाट सिनेटका लागि उम्मेदवार चुनिएका थिए, जहाँ उनी सन् २०२२ को निर्वाचनमा सिनेटर निर्वाचित भए । भान्सले पछिल्लो समय आफूलाई ट्रम्पप्रति पूर्ण बफादार रहेको देखाउन कुनै कसर बाँकी राख्दैनन् । धेरै विषयमा ट्रम्पजस्तै वा अझ उग्र विचार राख्ने भान्सको उपराष्ट्रपतीय चयनलाई कतिपयले ट्रम्पले आफ्ना ‘उत्तराधिकारी’चयन गरेको भनी व्याख्या गरेका छन् ।