धनुषा जिल्ला अदालतले आज मंगलबारदेखि स्वचालित पेसी प्रणाली लागू गरेको छ। अदालतले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा शीघ्र न्याय सम्पादनका कार्य पूरा गर्न स्वचालित पेसी प्रणाली लागू गरिएको न्यायाधीश चुडामान खड्काले बताए।
यसअघि, सर्वोच्च तथा उच्च अदालतमा स्वचालित पेसी प्रणाली लागू भइसकेको छ। साथै आजदेखि पारिवारिक इजलास सञ्चालन भएको न्यायाधीश खड्काले जानकारी दिए।
अदालतले पुराना मुद्दा चालू आर्थिक वर्षभित्रमा फर्स्याेट गरेर अर्को आर्थिक वर्षमा त्यसलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। धनुषा जिल्ला अदालतमा आव ०८०/८१ मा जिम्मेवारी सरेर आएकामध्ये तीन हजार एक सय ८४ र नयाँ दर्ता भएकामध्ये एक हजार नौ सय ९१ मुद्दा फर्स्याेट भएका छन्।
जिल्ला अदालतमा सबैभन्दा बढी देवानी मुद्दाअन्तर्गत लेनदेन मुद्दा फर्स्याेट गर्न बाँकी छ। लेनदेन मुद्दाको संख्या एक हजार आठ सय २७, अंश मुद्दा एक हजार ९९ र बैंकिङ कसुरसम्बन्धी एक सय १० मुद्दा परेका छन्।