मोरङको विराटनगरबाट १०१ केजी गाँजासहित तीनजना पक्राउ परेका छन्। मोरङ प्रहरीले विराटनगर महानगरपालिका– ४ इक्राही टोलबाट आइतबार अपराह्न गाँजासहित तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कारचालक मोरङ केराबारी गाउँपालिका– ५ का ३६ वर्षीय सुरेश लिम्बू, कारमा सवार धनकुटा साँगुरीगढी गाउँपालिका– २ का ३४ वर्षीय सुवास नोयोहाङ र सुनसरी धरान उपमहानगरपालिका– १३ की ४२ वर्षीया लक्ष्मी राई रहेका छन्।
उनीहरूलाई बा.६च ४६८९ नम्बरको कारमा डिकीमा लुकाएर लागुऔषध गाँजा ल्याउँदै गरेको सूचना पाएपछि आइतबार अपराह्न मोरङ प्रहरीको टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको थियो।
मोरङ प्रहरीले एक महिनाअघि पनि मोरङको धनपालथानबाट गोदाममा लुकाएर राखेको सय केजी गाँजा बरामद गरेको थियो। आइतबार राति नै प्रहरीले सुनसरीको दुहबी नगरपालिका– १२ गेलाबारीबाट मोटरसाइकलसहित २५ किलो २४५ ग्राम गाँजा बरामद गरेको छ।