घुँडामुनि गोली प्रहार गरी डकैतीमा संलग्न प्रहरी नियन्त्रणमा

सोमबार, ३२ असार, २०८१
डिजिटल संस्करण
घुँडामुनि गोली प्रहार गरी डकैतीमा संलग्न प्रहरी नियन्त्रणमा

गोली हानेर प्रहरीको नियन्त्रमा रहेका सर्लाहीस्थित लालबन्दी नगरपालिका-२ बस्ने बर्ष ४० का बीजेन्द्र पासवन

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले एकजना डाँका आरोपीलाई गोली हानेर नियन्त्रणमा लिएको छ । विगत लामो समयदेखि बारा, सर्लाही, महोत्तरी, सिराहा र सिन्धुलीमा पटक–पटक डकैतीमा संलग्न भएको आरोपमा प्रहरीले गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको छ । 

प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आइतबार राति महोत्तरीको सोनमा गाउँपालिका- ५ खैरवनीस्थित सर्लाही र मोहत्तरी सिमाना शीतलपुर भन्ने स्थानबाट उनलाई पक्राउ गरेको हो ।

सर्लाहीस्थित लालबन्दी नगरपालिका- २ बस्ने वर्ष ४० का विजेन्द्र पासवानलाई प्रहरीले घुँडामुनि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारले जानकारी दिए ।

डिएसपी जयसवारले भने, ‘खोजीका क्रममा प्रहरीसँग जम्काभेट हुँदा उनलाई पक्राउ गर्न खोजिएको थियो, तर पासवन भाग्न खोजेपछि गोली हानेर नियन्त्रण गरिएकाे हाे।’ प्रहरीको गोली लागेर घाइते भएका डाँका आरोपीलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।

सुझावित समाचार