त्रिविले परीक्षाको नतिजा अब ९० दिनभित्रै आउने गरी क्यालेन्डर स्वीकृत गर्नुलाई के भन्नुहुन्छ ?
यो एकदम सकारात्मक विषय हो । म नेविसंघको नेतृत्वमा रहेको समयमा तत्कालीन प्रधानमन्त्री प्रचण्डसामु सात विद्यार्थी संगठनका तर्फबाट त्रिविको ढिलासुस्ती हटाउने विषयमा सुझाव पत्र नै पेस गरिएको थियो । समयमै कक्षा सञ्चालन गर्नु, समयमै कोर्स सक्नु, समयमै परीक्षा लिनु र समयमै नतिजा सार्वजनिक गर्नु सरोकारवाला सबैको हितमा छ ।
यसअघि पटकपटक क्यालेन्डर बने पनि कार्यान्वयन हुन सकेन । अहिलेचाहिँ कार्यान्वयन होला त ?
कार्यान्वयन नगरी सुखै छैन । यसका लागि सबैभन्दा पहिले राजनीतिक दलका शीर्ष नेताहरूबाट सार्वजनिक ‘कमिटमेन्ट’ गराउनुपर्छ । किनकि, यसमा ढिलासुस्ती गर्ने विश्वविद्यालयको नेतृत्व, प्राध्यापक, कर्मचारी, विद्यार्थी जोजो भए पनि कुनै न कुनै रूपमा राजनीतिक दलसितै आबद्ध हुन्छन् । अहिले दुई ठुला दल जनताबीच बदनाम भइयो, अब सुशासनका पक्षमा राम्रो काम गरौँ भनेर सरकार निर्माणमा जुटेका छन् । यस्तो समयमा ठुला स्थापित दलहरूले ‘रियलाइज’ गरे भने क्यालेन्डर कार्यान्वयन हुन नसक्ने कुरै छैन । यसमा सत्तापक्ष र प्रतिपक्ष नभनी सबैले योगदान दिनुपर्छ ।
त्रिविको ढिलासुस्तीमा विद्यार्थी, प्राध्यापक, कर्मचारी र त्रिवि नेतृत्वको केकति जिम्मेवारी हुन्छ ?
राजनीतिक नेतृत्वले शैक्षिक संस्थाको नेतृत्वमा आफ्ना दलसम्बद्ध व्यक्ति चयन गरेर पठाउने भएपछि सबैभन्दा बढी भूमिका राजनीतिक दलहरूकै हुन्छ । विद्यार्थी, प्राध्यापक या कर्मचारीमध्ये जो भए पनि तिनीहरू कुनै न कुनै रूपमा दलहरूसित जोडिएकै हुन्छन् । विश्वविद्यालयका नेतृत्व त झनै दलहरूप्रति बफादार हुने नै भए । त्यसैले, यो ढिलासुस्तीमा यी सबैको हिस्सेदारी हुन्छ ।