धेरै वर्षअघिको कुरा हो । एउटा कुनै गाउँ थियो । गाउँमा मानिस खेती–किसानी गरेर जीवन चलाउँथे । त्यस गाउँमा दुई युवक निकै मिल्ने साथी थिए । उनीहरू सँगै खेल्थे । आपसमा मिलेर काम गर्थे । एक–अर्कालाई सघाउँथे । कतै जानुपर्यो भने पनि सँगै जान्थे ।
एकपटक दुवै युवक कुनै कामको सिलसिलामा अर्कै गाउँतिर गइरहेका थिए । गर्मीको समय थियो । बाटामा पानी पनि भेटिएन । उनीहरू दुवै निकै थाके । चर्को गर्मी र हिँडाइका कारण उनीहरूको थकान क्रमशः बढ्दै गयो । एकछिन विश्राम नगरी अघि बढ्न उनीहरूलाई कठिन हुँदै गयो । त्यसैले, उनीहरू विश्राम गर्न नजिकैको एउटा ठूलो रुखको छहारीमा बसे ।
शीतल छहारीमा बस्दै गर्दा उनीहरू विभिन्न विषयमा कुराकानी गर्न थाले । त्यत्तिकैमा माथि रुखतिर हेर्दै एक युवकले भने– हेर त मित्र, यो रुख हेर्दा यसमा कहिल्यै फूल पनि फुलेन र फल पनि लागेन जस्तो देखिन्छ है ? अर्को युवकले पनि रुखतिर हेरेर मित्रको भनाइमा समर्थन जनाउँदै भने– खै, हेर्दा त त्यस्तै देखिन्छ । पहिलो युवकले उत्साहित हुँदै भने– त्यही त भन्या नि ! यस्तो रुख त बेकारको हुन्छ हगि ?
मित्रको कुरा सुनेपछि दोस्रो युवकले गम्भीर हुँदै भने– त्यस्तो त कसरी भन्न मिल्छ र ? यसले हामीलाई यतिखेर यो चर्को गर्मीमा शीतल छहारी दिएको छैन ? हामीलाई यसले गर्मीबाट जोगाएको छैन ? जब यसले हामीलाई शीतल छहारी दिइरहेको छ भने अरू पनि कैयौँ मानिस र जीवजन्तुलाई छहारी दिइरहेको होला । कैयौँ चराचुरुंगीले यसमा आश्रय लिएका होलान् । अनि यस्तो गुनी रुखलाई कसरी बेकारको भन्नु ? केवल फूल नफुल्नु या फल नलाग्नुले मात्र कुनै पनि रुखलाई बेकारको भन्न मिल्दैन । आखिर कुनै न कुनै गुण त सबैमा हुन्छ । त्यसलाई हामीले कति र कसरी देख्छौँ भन्ने मात्र त हो ।