सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।
आज बसेको संसदीय दलको बैठकले आज बस्ने प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन तथा आज प्रधानमन्त्रीले पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सबै सांसदलाई ह्विप जारी गरेको हो।
सत्तासहयात्री दल एमालेले कांग्रेससँग नयाँ सत्तागठबन्धन गर्ने गरी सरकार छाडेर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन्।
प्रधानमन्त्रीले लिने विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदानका लागि आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ।