पृथ्वी राजमार्गको नौबिसे–मलेखु खण्ड राति बन्द गरिने

मंगलबार, २६ असार, २०८१
डिजिटल संस्करण

पृथ्वी राजमार्गअन्तर्गतको नौबिसे–मलेखु खण्ड रातको समयमा बन्द गरेर निर्माण कार्य गरिने भएको छ। असार २६ गते बुधबारदेखि साउन ९ गते बुधबारसम्म हरेक दिन बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरी पुलको बिम राख्ने कार्य गर्न लागिएको हो।

चारवटा खोलाका पुलहरूमा (गडर लन्चिङ) बिम राख्ने कार्य गर्नुपर्ने भएकाले रातको समयमा बन्द गरेर काम गर्न लागिएको नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड)का योजना प्रमुख ईश्वरबहादुर रिजालले जानकारी दिए। उक्त सडकखण्डमा पर्ने गणेश खोला, डाङडुङ, खेस्टे र पोखरे खोलाका पुलहरूको गडर लन्चिङ कार्य सुरु गर्न लागिएको छ।

चारवटामा बिम राख्नुपर्ने र समय लाग्ने भएकाले राजमार्ग बन्द गरेर निर्माण कार्य गर्न लागिएको उनले बताए। एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधन पूर्ण रूपमा बन्द रहनेछन्। राजमार्ग भएर यात्रा गर्ने सवारीसाधनहरूलाई वैकल्पिक मार्गको रूपमा गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न आग्रह गरिएको छ।
 

सुझावित समाचार