कोपा अमेरिका २०२४ : पेनाल्टी सुटआउटमा मेसी चुके, अर्जेन्टिना सेमिफाइनलमा

शुक्रबार, २१ असार, २०८१
डिजिटल संस्करण

कप्तान लियोनल मेसी पेनाल्टी सुटआउटमा चुके पनि अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ।शुक्रबार बिहान अमेरिकाको एनआरजी मैदानमा गोलकिपर इमिलियानो मार्टिनेजले दुई पेनाल्टी रोकेपछि अर्जेन्टिनाले इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो । 

अब, सेमिफाइनलमा अर्जेन्टिनाले भेनेजुएला र क्यानडाबीचको विजेतासँग खेल्नेछ। साबिक विजेता अर्जेन्टिनाका कप्तान मेसीको पहिलो पेनाल्टी बारमा लागेर बाहिरियो । त्यसपछि मार्टिनेजले इक्वेडरका एन्जल मेना र एलान मिन्डाको प्रहार रोक्दै संकट टारेका हुन् । 

मेसी चुक्दा अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, गोन्जालो मोन्टियल र निकोलास ओटामेन्डीले गोल गरेका हुन् । त्यसअघि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सम्पन्न भएको थियो। त्यसपछि सीधै नतिजा पेनाल्टी सुटआउटमा आएको हो । 

निर्धारित ९० मिनेटमा लिसान्द्रो मार्टिनेजले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। खेलको इन्जुरी समयमा इक्वेडरका केभिन रोड्रिगुइजले बराबरी गोल गरेका हुन् ।
 

सुझावित समाचार