उद्योग व्यापार संघ कपिलवस्तुद्वारा पञ्चवर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक

बिहिबार, २१ असार, २०८१
डिजिटल संस्करण

उद्योग व्यापार संघ कपिलवस्तुले पाँचवर्षे कार्ययोजना सार्वजनिक गरेको छ । आफ्नो  दोस्रो स्थापना दिवसको अवसरमा ‘राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधिकरण’भन्ने मूल नारासहित  आयोजित रणनीतिक योजना तर्जुमा कार्यशाला तथा प्रशिक्षण कार्यक्रममा महत्त्वपूर्ण निर्णयसहित पाँचवर्षे कार्ययोजना सार्वजनिक गरिएकोे छ । संस्थाले कार्यक्रम अर्घाखाँचीको नरपानीस्थित देउराली क्याम्प फायर एन्ड रिसोर्टमा सम्पन्न गरेको छ ।

संघका अध्यक्ष खिमानन्द पौडेल (कपिल)ले संस्थाले गरेका काम र आगामी पञ्चवर्षीय योजनाहरू प्रस्तुत गरेका थिए । जसमा आर्थिक पत्रकारिता पुरस्कारको स्थापना, विपत् व्यवस्थापन, दैवी प्रकोप उद्धार कोषको स्थापना, सदस्य राहत कोषको स्थापना, सामूहिक लगानीमा उद्यमशीलता, व्यावसायिक तालिम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै, नीतिगत योजनातर्फ विभिन्न संघसंस्थासँग सहकार्य, समन्वय गर्दै व्यवसायीहरूको हकहित तथा संस्थागत कार्ययोजनाअन्तर्गत कपिलवस्तुका दश स्थानीय तहमा उद्याेग व्यापार संघको शाखा तथा सदस्यता विस्तार गरी आफ्नै जग्गा तथा सुविधासम्पन्न बहुउद्देश्यीय  भवन निर्माण  गरिने अध्यक्ष पौडेलले बताएका छन् ।

उक्त कार्यक्रममा बोल्दै नेपाल उद्योग व्यापार संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठले देशैभरका संस्थामध्ये उद्योग व्यापार संघ कपिलवस्तु उत्कृष्ट स्थानमा रहेको बताउँदै छोटो समयमा विभिन्न रचनात्मक कार्यक्रम गरेको भन्दै उनले प्रशंसासमेत गरेका थिए ।

त्यस्तै, नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय वाणिज्य उपाध्यक्ष बाबुराम पोख्रेलले संघले स्थापना कालदेखि हालसम्म गरेको प्रगतिकाे प्रशंसा गरेका छन् । उनले युवाहरूलाई रोजगारी दिलाउँदै बाहिर जाने युवालाई स्वदेशमै राेजगारी सिर्जना गर्नुपर्ने बताए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष हुमनाथ पौडेल, उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य, संस्थाका कार्यसमितिका सदस्यहरू तथा व्यापारी सल्लाहाकार, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

सुझावित समाचार