पेरिस ओलम्पिकमा ब्याडमिन्टनका प्रिन्स प्रशिक्षकविहीन

मंगलबार, १९ असार, २०८१
डिजिटल संस्करण

नेपाल ब्याडमिन्टन संघले समयमै प्रशिक्षकको नाम उपलब्ध नगराएका कारण पेरिस ओलम्पिकमा पहिलोपटक सहभागी हुन लागेका प्रिन्स दाहालले अब प्रशिक्षकविहीन अवस्थामै प्रतिस्पर्धा गर्ने

पहिलोपटक वाइल्ड कार्डबाट पेरिस ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले प्रशिक्षकविहीन प्रतिस्पर्धा गर्ने भएका छन् । समयमै प्रिन्सका प्रशिक्षकको नाम पेरिस ओलम्पिकमा ‘इन्ट्री’ नहुँदा उनी आफ्नो पहिलो ओलम्पिक यात्रामै प्रशिक्षकविहीन हुने भएका हुन् । पेरिस ओलम्पिकमा उनले पुरुष एकलमा प्रतिस्पर्धा गर्नेछन् ।

अन्तर्राष्ट्रिय खेलकुदमा खेलाडी, प्रशिक्षक, अफिसियल तथा अन्य पदाधिकारीहरूको नाम दर्ताको समन्वयन गर्ने संस्था नेपाल ओलम्पिक कमिटी (एनओसी)ले प्रिन्सका प्रशिक्षकको नाम सम्बन्धित निकायबाट उपलब्ध नगराएको जनाएको छ । प्रशिक्षकको नाम दर्ता ढिलाइ भएका कारण प्रिन्सले ओलम्पिकमा प्रशिक्षक नपाउने अवस्था बनेको नेपाल ओलम्पिक कमिटीका सचिव सुजनलाल श्रेष्ठले बताएका छन् । उनका अनुसार नेपालबाट सहभागी हुने सम्बन्धित खेलका प्रशिक्षकहरूको नाम दुई महिनाअघि आयोजक पेरिस ओलम्पिकलाई बुझाउनुपर्ने थियो । 

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले ब्याडमिन्टनबाट प्रशिक्षकको नाम दिन ढिला भएको स्विकारेका छन् । ‘हामीले समयमै ब्याडमिन्टनका प्रशिक्षक बुझाउन सकेनौँ, यो खेलका खेलाडीले ओलम्पिक खेल्छन् वा खेल्दैनन् भन्ने थियो,’ श्रेष्ठले भने, ‘प्रिन्सले वाइल्ड कार्ड प्राप्त भएपछि ब्याडमिन्टन पनि नेपालबाट पेरिस ओलम्पिकमा समावेश भएको हो, त्यतिवेलासम्म प्रशिक्षकको नाम पठाउन नै ढिला भइसकेको थियो ।’ 

नेपाली प्रशिक्षक नभए पनि प्रिन्सले दुई महिनादेखि श्रीलंकामा नियमित प्रशिक्षण लिइरहेका प्रशिक्षक टोनी वाहयुदीलाई सहयोगीका रूपमा राख्न सक्ने एनओसीका सचिव श्रेष्ठले बताएका छन् । 

‘नेपालबाट प्रिन्सलाई प्रशिक्षक उपलब्ध नभएपछि उनले श्रीलंकाली प्रशिक्षक टोनी वाहयुदीबाट सहयोग पाउन सक्छन्, हामीले उनलाई सहयोग गर्न आग्रह गरेका छौँ,’ उनले भने, ‘प्रिन्सलाई ओलम्पिकमा हेरिदिने भन्ने कुरा भएको छ ।’ वाइल्ड कार्डमार्फत ओलम्पिकमा छनोट भएपछि प्रिन्स श्रीलंकामा प्रशिक्षण गरिरहेका छन् । 

नेपालमा रहँदा उनलाई राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको प्रशिक्षक सुदीप योञ्जनले प्रशिक्षण गराएका थिए । दुई महिनादेखि श्रीलंकामा प्रशिक्षणमा रहेका प्रिन्सलाई श्रीलंकाली राष्ट्रिय टिमका प्रशिक्षकसमेत रहेका वाहयुदीले प्रशिक्षण दिइएका छन् । ‘श्रीलंकामा रहँदा प्रिन्सलाई वाहयुदीले नै प्रशिक्षण गराउनुभएको छ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग उनलाई प्रिन्सको सहयोगी प्रशिक्षकका रूपमा हेर्न आग्रह छ,’ एनओसीले जनाएको छ । दुई सातापछि प्रिन्स श्रीलंकाबाट नेपाल फर्कनेछ । 

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले ओलम्पिकजस्तो प्रतियोगितामा नेपाली खेलाडी प्रशिक्षकविहीन हुँदा दुःख लागेको बताएका छन् । उनले यस सम्बन्धमा आफूले जानकारी लिने जनाए । ‘यसबारेमा मलाई खासै जानकारी छैन, तर प्रिन्सले ओलम्पिकमा नेपाली प्रशिक्षकविहीन प्रतिस्पर्धा गर्नुपर्ने सिर्जना आएको सुन्दा नरमाइलो लागेको छ,’ विष्टले भने, ‘यसमा पक्कै पनि सम्बन्धित पक्षले गम्भीरतापूर्वक लिनुपर्ने हो ।

यसरी छनोट भएका थिए ओलम्पिकमा प्रिन्स
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को छात्रवृत्ति पाएका प्रिन्स अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, विश्व ब्याडमिन्टन फेडेरेसन र आयोजक नेसनल ओलम्पिक कमिटी प्रतिनिधि सम्मिलित समितिको युनिभर्सालिटी कोटामा ओलम्पिकमा छनोट भएका हुन् । त्यसका लागि आइओसी छात्रवृत्ति प्राप्त हुनुपर्ने, वरीयता प्रतियोगितामा गरेको प्रदर्शन र सम्बन्धित देशको उच्च वरीयताको खेलाडी हुनुपर्ने मापदण्ड छ । 

पेरिस प्रिन्स विश्व वरीयतामा १७९औँ स्थानमा छन् । विश्व ब्याडमिन्टन फेडेरेसनले सन् २०२३ मे १ देखि २०२४ को अप्रिल २८ सम्म विभिन्न प्रतियोगितालाई ‘रोड टु पेरिस’ साइकलको रूपमा छनोट प्रतियोगिताको मान्यता दिएको थियो । 

प्रिन्सले चीनमा भएको एसियन ब्याडमिन्टन च्याम्पियनसिपमा दुई खेल जितेका थिए । च्याम्पियनसिपको क्वालिफाइङ राउन्डमा उनले बहराइनका एडनान इब्राहिमलाई २–१ र बंगलादेशका खानदोकार अब्दुसलाई २–० को सेटमा हराएका थिए । ओलम्पिकमा स्थान बनाउन प्रिन्ससँगै बहराइनका एडनान पनि दौडमा थिए । हेड टु हेड र अंकका आधारमा प्रिन्सले स्थान पक्का गरेका हुन् ।

हामीले प्रशिक्षकको नाम पठाउन ढिला गर्यौँ : रामजीबहादुर श्रेष्ठ, अध्यक्ष, ब्याडमिन्टन संघ
प्रिन्सले वाइल्ड कार्ड प्राप्त गरेपछि ब्याडमिन्टनको सहभागिता निश्चित भएको हो । त्यतिवेलासम्म हामीले प्रशिक्षकको नाम पठाउन नै ढिला गर्यौँ । 

सम्बन्धित निकायबाट नाम आएन : सुजनलाल श्रेष्ठ, सचिव, एनओसी
प्रिन्सका सम्बन्धित खेलको संघबाट प्रशिक्षकको नाम नै समयमा आएन । हामीले समयमै नाम इन्ट्री गराउन नसक्दा प्रिन्स पेरिस ओलम्पिकमा प्रशिक्षकविना नै खेल्नेछन् । 

संघले गम्भीरतापूर्वक लिनुपर्ने हो : दीपक विष्ट, निर्देशक राष्ट्रिय टिम तयारी
प्रिन्सले ओलम्पिकमा नेपाली प्रशिक्षकविहीन प्रतिस्पर्धा गर्नुपर्ने भएको सुन्दा नरमाइलो लागेको छ । सम्बन्धित पक्षले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने हो ।

See More On

सुझावित समाचार