नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा बेलायतको लगानी वृद्धिका लागि पहल गर्न नेपालका लागी बेलायती राजदूत रब फेनलाई आग्रह गरेका छन् । परिसंघ सचिवालयमा बुधबार परिसंघ र राजदूत फेनबीच द्विपक्षीय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिवृद्धिमा छलफल भएको थियो । उक्त अवसरमा अध्यक्ष अग्रवालले नेपालमा बेलयती लगानी वृद्धिमा जोड दिएका हुन् ।
उनले नेपालको पूर्वाधार, विद्युत् तथा नवीकरणीय ऊर्जा, सूचना प्रविधिलगायतका क्षेत्रमा बेलायती लगानीकर्ता भिœयाउन भूमिका खेल्न आग्रह गरे । उनले बेलायतसँग दोहोरो कर उन्मुक्ति सम्झौतामा जोड दिए ।परिसंघ सचिवालयमा भएको छलफलमा परिसंघका अध्यक्ष अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल इन बिजनेस’लगायत नयाँ कार्यक्रम सुरु गरेकोमा धन्यवाद दिए । यसबाट नेपालले महत्वपूर्ण उपलब्धि हासिल गर्ने उनले विश्वास व्यक्त गरे । परिसंघले सरकारसँगको सहकार्यमा ‘मेक इन नेपाल स्वदेशी’ अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै बेलायती दूतावाससँग सहकार्यका लागि परिसंघ तयार रहेको पनि बताए ।
अध्यक्ष अग्रवालले बेलायतसँग नेपालको अन्तराष्ट्रिय व्यापार घाटामा रहेको उल्लेख गर्दै नेपाली वस्तुहरूलाई बेलायती बजार पहुँचका लागि प्रतिस्पर्धी बन्ने कार्यसमा सघाउन राजदूतलाई आग्रह गरे । सो छलफलमा नेपालका लागि बेलायती राजदूत फेनले नेपालमा आर्थिक गतिविधि सञ्चालन गर्न, रोजगारीका अवसर सिर्जना गर्न र दुई देशबीचको नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्न बिजुली उत्पादन, ऊर्जा, प्रविधि, पर्यटन र कृषि व्यवसाय क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । साथै, नेपाल इन बिजनेसजस्ता पहलमार्फत नेपालसँगको आर्थिक साझेदारीलाई बलियो बनाउन बेलायत प्रतिबद्ध रहेको बताए । छलफलमा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष वीरेन्द्रराज पाण्डेलगायत सहभागी थिए ।