ओपेक फन्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ओपेक फन्डका अध्यक्ष अब्दुल हमिद अलखलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् ।
यो ऋण लघु, साना तथा मझौला उद्यमीलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न र महिलाद्वारा सञ्चालित व्यवसायको क्षमता अभिवृद्धि गर्न परिचालन गरिने बैंकले जनाएको छ ।
लघु, साना तथा मझौला उद्यमको संख्या नेपालमा दर्ता कुल व्यवसायको ९५ प्रतिशतभन्दा बढी रहेको, ४५ प्रतिशतभन्दा धेरै रोजगारी सिर्जना हुँदा पनि लघु, साना तथा मझौला उद्यमले लगानीको ठूलो अभाव झेलिरहेको बताइएको छ ।
‘नेपालमा लघु, साना तथा मझौला व्यवसाय र जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी परियोजनालाई सुदृढ बनाउन ग्लोबल आइएमई बैंकसँग साझेदारी गर्न पाउँदा हामीलाई खुसी लागेको छ,’ अलखलिफाले भने, ‘यी क्षेत्र दिगो आर्थिक वृद्धि र जलवायु परिर्वतनको प्रतिरोधात्मक क्षमताका लागि निकै महत्वपूर्ण छन् । हाम्रो यस ऋणले लगानीको अभाव सामना गरिरहेका विभिन्न क्षेत्रमा वित्तीय पहुँच बढाउँदै समावेशी विकासलाई प्रवर्द्धन गर्नेछ ।’
सिइओ बज्राचार्यले यो ऋण सम्झौताले दिगो विकास लक्ष्य हासिल गर्न र जलवायु तथा लैंगिक वित्तमार्फत त्यस क्षेत्रमा देखिएको स्रोतको अभावलाई परिपूर्ति गर्न महत्वपूर्ण सहयोग गर्ने बताए । ‘नेपालमा हरित ऊर्जा क्षेत्रको स्रोत अभावलाई सम्बोधन गर्दै महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग गर्नेछ,’ उनले भने ।