मकवानपुर प्रहरीले ३३० किलो अवैध लागुऔषध गाँजासहित दुईवटा ट्रक र तीनजना मानिसलाई नियन्त्रणमा लिएको छ ।
बिहीबार राति सवा एक बजेको समयमा प्रहरीले भीमफेदी गाउँपालिका– १ सामरी पुलनजिक भित्री सडकखण्डबाट एक सय ७५ किलो गाँजासहित बा.३ख ४६१ नम्बरको मिनीट्रक र ट्रकचालकलाई नियन्त्रणमा लिएको हो ।
मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार लागुऔषध गाँजा लुकाइछिपाई ल्याएको भन्ने विशेष सूचनाको आधारमा ट्रकमा खानतलासी गर्दा ट्रकको पछाडिपट्टि मुनि फल्स बटम बनाई लुकाइछिपाई राखेको अवस्थामा गाँजा फेला परेको हो ।
ट्रकचालक हेटौँडा उपमहानगरपालिका– ४ का ५१ वर्षीय पूर्णबहादुर रुम्बालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । यस्तै, प्रहरीले बुधबार हेटौँडा– १५ रातोमाटे चेक प्वाइन्टस्थित पूर्व–पश्चिम सडकखण्डबाट एक सय ५५ किलो अवैध लागुऔषध गाँजासहित डिब्बा ट्रक र दुईजनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले चितवनबाट पथलैयातर्फ जाँदै गरेको ना.५ख १११८ नम्बरको डिब्बा ट्रक र ट्रकचालक चितवनको राप्ती नगरपालिका– २ गँड्यौलीका ३६ वर्षीय सुनील माेक्तान र ट्रकमा सवार चितवनकै राप्ती नगरपालिका– १ लोथर बस्ने २० वर्षको अनिल भन्ने धनबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले उक्त डिब्बा ट्रकको माथि हुटमा फल्स बटम बनाई लुकाइछिपाई राखेको अवस्थामा रातो प्लास्टिकमा बेरेर डोरीले बाँधेको १६ पोकामा एक सय ५५ किलो लागुऔषध गाँजा फेला पारेको प्रवक्ता भण्डारीले जानकारी दिए । लागुऔषध गाँजासहित प्रहरी नियन्त्रणमा रहेको ट्रक र मानिसहरूमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।