आणविक परीक्षणको युगमा फर्किन लागेको हो विश्व ?

मानव, सार्वजनिक स्वास्थ्य र पर्यावरणलाई पुस्तौँ प्रभावित गर्छ भन्ने थाहा हुँदाहँुदै पनि २०औँ शताब्दीमा दुई हजारभन्दा बढी आणविक हतियार परीक्षण गरिए

बिहिबार, १३ असार, २०८१
डिजिटल संस्करण
आणविक परीक्षणको युगमा फर्किन लागेको हो विश्व ?

नेसनल न्युक्लियर सेक्युरिटी एड्मिनिस्ट्रेसेन । फाइल फोटो

युद्धमा दीर्घकालीन प्रभाव पार्न आणविक अस्त्रको प्रयोग गर्नैपर्दैन । मानव स्वास्थ्य, सार्वजनिक स्वास्थ्य र पर्यावरणलाई पुस्तौँ प्रभावित गर्छ भन्ने थाहा हुँदाहुँदै पनि २०औँ शताब्दीको अवधिमा दुई हजारभन्दा बढी आणविक हतियार परीक्षण गरिए । अमेरिकी सरकारले आफूले दशकौँअघि गरेका परीक्षणका आणविक फोहोरलाई सफा गर्ने काम अझै पूरा गरिसकेको छैन । तर, त्यहाँ पुनः आणविक परीक्षण सुरुवात हुने सम्भावना देखिँदै छ ।

डब्लु.जे. हेनिगनले टाइम्स ओपिनियनको ‘एट द ब्रिंक’ शृंखलाका लागि लेखेको पछिल्लो आलेखमा संयुक्त राज्य अमेरिका, रुस र चीन सबैले आफ्ना आणविक परीक्षण सुविधाहरूको आधुनिकीकरण गरिरहेकोबारे विस्तृत रूपमा लेखेका छन् । सन् १९९६ को ‘कप्रिहेन्सिभ न्युक्लियर टेस्ट ब्यान ट्रिटी’मा हस्ताक्षर गरेयता भने कुनै पनि देशले भूमिगत आणविक परीक्षण गरेका छैनन् । तर, संयुक्त राज्य अमेरिका र चीनले उक्त दस्ताबेजलाई कहिल्यै अनुमोदन गरेनन् । यसबाट एक कदम पछि हट्दै रुसले पनि गत नोभेम्बरमा यस सन्धिको अनुमोदनलाई रद्द गरेको छ । 

प्लानेट ल्याब्स पिबिसीले उपलब्ध गराएका ‘व्यावसायिक स्याटेलाइट तस्बिर’हरूले अहिले यी तीनै मुख्य आणविक शक्तिले आफ्ना आणविक परीक्षण पूर्वाधार विस्तार र आधुनिकीकरण गरिरहेको बताउँछ । उनीहरू ती स्थलमा नयाँ भवनहरू थपिरहेका छन्, नयाँ सडकहरू बनाइरहेका छन् र नयाँ सुरुङहरू खनिरहेका छन् । मिडलबरी इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजको ‘जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफरेसन स्टडिज’ले विश्लेषण गरेका यी तस्बिर आणविक परीक्षण हुन लागेको प्रमाण नै त होइन, तर राजनीतिक नेतृत्वले कुनै समय अनुमति दिने निर्णय गरेमा त्यसको लागि तयारी भइरहेको संकेत भने हो ।

पृथ्वीमा एउटा मात्र पनि आणविक हतियार हुँदासमेत दुर्घटना र गलत सञ्चारका कारण विश्व विनाशको संघारमा पुग्ने जोखिम हुन्छ । शीतयुद्धको अवधिमा मानवजातिले सौभाग्यवश यस्तो विपत्ति रोक्न कदम चालेको थियो । परीक्षणको नतिजा हामीलाई अवगतै छ । यस्ता गल्ती अब कहिल्यै दोहोरिनुहुँदैन ।

अमेरिका नेभाडामा आफ्नो विस्तार लुकाछिपी नभएर पारदर्शी रहेको बताउँछ । यसै स्थलमा उसले ९२८ वटा आणविक परीक्षण गरेको थियो । उसले एउटा अत्याधुनिक भूमिगत प्रयोगशाला निर्माणको काम पनि गरिरहेको छ, जसले कम गम्भीर परीक्षणहरू सञ्चालन गर्नेछ । अथवा न्युक्लियर चेन रियाक्सन नगर्ने खालका हतियारका लागि उपयोग गरिने विस्फोटकहरूको परीक्षण सञ्चालन गर्नेछ । नेसनल न्युक्लियर सेक्युरिटी एडमिनिस्ट्रेसन यी सुविधाहरू कार्यस्थल–कर्मचारीका ‘सुरक्षा, भोजन, आवास र प्रशासनिक जरुरत’का लागि निर्मित भएका हुन् ।

रुसको नोभाया जेम्लाया परीक्षण स्थल आर्कटिक महासागरको एउटा द्वीपमालामा पर्छ । यहाँको पर्वत शृंखलामा निर्मित थुप्रै सुरुङका प्रवेशस्थलछेउछाउ अहिले नयाँ निर्माण देखिन्छन् । यहाँ सन् १९५५ देखि १९९० सम्म थुप्रै परीक्षण भएका थिए ।

सबैभन्दा व्यापक परिवर्तन उत्तरपश्चिम चीनको विशाल ‘लोप नुर साइट’मा भएको छ । न्युयोर्क टाइम्सले गत डिसेम्बरमा विज्ञले थाहा पाएका विस्तृत विवरणसहितको अनुसन्धान प्रकाशित गरेको थियो । मुख्य आधार शिविरमा मात्रै पनि सन् २०१७ यता ३० भन्दा बढी भवन थपिएका वा जीर्णाेद्धार गरिएका छन् । चिनियाँहरूले पुरानो तेर्साे सुरुङ सञ्जालमा भन्दा ठूलो आणविक परीक्षण गर्न सकिने नयाँ भर्टिकल ‘साफ्ट’ समेत निर्माण गरेका छन् ।

विश्व फेरि यो अधोमार्गमा जानुअघि, यस्ता परीक्षणले आज पनि यो ग्रह र यसका बासिन्दालाई कसरी असर गरिरहेको छ भनेर हेर्न र बुझ्नु महत्वपूर्ण हुन्छ । यसमा सहजीकरणका लागि हेनिगन हामीलाई आणविक परीक्षणको इतिहास सम्झाउँछन् ।

अधिकांश परीक्षण मानव बसोवासस्थलभन्दा निकै टाढा गरिएको भए पनि तिनको बिरासत (असर) चिरस्थायी छ । दीर्घरोग र क्यान्सरमा यसको प्रमाण देख्न सकिन्छ । यी स्थलवरपरका जनसंख्यामा यस्ता समस्या व्यापक देखिन्छन् । सम्भवतः ग्रामीण अर्कान्सासमा सबैभन्दा राम्रोसँग देख्न सकिन्छ । मार्सल टापुबाट यो क्षेत्रमा बसोवास गर्न आइपुगेका आप्रवासी र तिनका सन्ततिले यहाँको जनसंख्याको लगभग तीन प्रतिशतमा हिस्सेदारी गर्छन् । कोरोना महामारीको पहिलो चार महिनामा त्यहाँ मृत्यु हुनेमध्ये ३८ प्रतिशत उनीहरू नै थिए । हेनिगन उनीहरूलाई तिनका आफ्ना कथा सुनाउन त्यहाँ गएका थिए ।

संयुक्त राज्य अमेरिकाले सबै मार्सलीहरूको जीवनलाई असर गरेको विकिरणजन्य व्यापक प्रदूषणका लागि औपचारिक माफी माग्न बाँकी नै छ । साथै यसको पूरा मूल्य चुकाउन र पीडितहरूलाई क्षतिपूर्ति गर्न पनि बाँकी नै छ । सन् १९४५ देखि १९६२ को बीचमा न्यु मेक्सिको र नेभाडामा गरिएका भूमिगत परीक्षणको प्रभावबाट पीडित अमेरिकीजस्तै मार्सलीहरू पनि न्यायका हकदार छन् ।

तर, कंग्रेसले रेडियसन एक्सपोजर कम्पेनसेसन एक्ट (विकिरण भोगेकाहरूलाई क्षतिपूर्ति दिने कानुन)लाई यसै महिनाको सुरुदेखि समाप्त गर्न अनुमति दिएको छ र हजारौँ युरेनियम उत्खनन कामदार, आणविक भूपू र परीक्षण पीडितलाई बेसहारा छाडेको छ । शीतयुद्धको समयमा अमेरिकी आणविक हतियारका लागि गरिएका उत्खनन र परीक्षणका क्रममा विकिरणको सम्पर्कका कारण बिरामी हुन पुगेका अमेरिकीहरूप्रति सरकारले पछिल्लो ३४ वर्षमा पहिलोपटक पिठ फर्काएको छ । जीवनरक्षक यो सहायतालाई कायमै राख्न र थप विस्तार गर्न सिनेटर जोस हाउली (मिसौरी), बेन रे लुजन (न्यु मेक्सिको) लगायतले अघि बढाएको विधेयकलाई धेरैभन्दा धेरै राजनीतिज्ञले समर्थन गर्नुपर्छ । उपेक्षा विकल्प हुन सक्दैन । 

इतिहासले हामीलाई के बताउँछ, खैर आणविक परीक्षणलाई छोडौँ, पृथ्वीमा एउटा पनि आणविक हतियार हुँदासमेत दुर्घटना र गलत सञ्चारका कारण विश्व विनाशको संघारमा पुग्ने जोखिम हुन्छ । शीतयुद्धको अवधिमा मानवजातिले सौभाग्यवश यस्तो विपत्ति रोक्न कदम चालेको थियो । परीक्षणको नतिजा हामीलाई अवगतै छ । यस्ता गल्ती अब कहिल्यै दोहोरिनुहुँदैन ।
– द न्युयोर्क टाइम्सबाट
 

सुझावित समाचार