प्रहरीमा स्टाफ कलेजसम्बन्धी प्रतिवेदन स्वीकृत: पिजिडिपिएस हट्ने, एमपिएस सुरु हुने

एकपटकमा १०५ जनाले प्रतिस्पर्धा गर्ने

सोमबार, ११ असार, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरीमा उच्च तहमा  पदोन्नतिका लागि अनिवार्य हुने गरी मास्टर इन पुलिस साइन्स (एमपिएस) कार्यक्रमको कार्यान्वयन सुरु भएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आइतबार यससम्बन्धी प्रतिवेदन स्वीकृत गरी कार्यान्वयनका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएका हुन् । 

उच्च तहमा पुग्नका लागि अब प्रहरीमा एमपिएस गर्नैपर्ने प्रावधान लागू हुन लागेको छ । स्टाफ कलेजका रूपमा चिनिने यस्तो कोर्स कार्यान्वयनका लागि प्रक्रिया अघि बढिसकेको प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रहेका एआइजी सुदीप गिरीले जानकारी दिए । 

‘कार्यालय स्थापनालगायत प्राविधिक काम अघि बढिसकेको छ,’ उनले भने, ‘समयतालिकाअनुसार नै सम्भवतः भदौ महिनामा हामी प्रवेश परीक्षा सञ्चालन गर्नेछौँ ।’  प्रहरीको नीति समन्वय समिति(पिसिसी)ले दुई साताअघि नै यसलाई स्वीकृत गरिसकेको छ । तालिम प्रतिष्ठानका डिआइजी राजन अधिकारीलाई संकायको प्रमुख बनाएर एमपिएस अघि बढाउन लागिएको छ । 

एआइजी उमेशराज जोशी नेतृत्वको समितिले समयतालिकासहित यससम्बन्धी प्रतिवेदन बनाएको हो । ‘सबैको राय लिएर हामीले प्रतिवेदन बनाएका हौँ,’ उनले भने, ‘एमपिएसको कार्यान्वयनले प्रहरीको व्यावसायिकता अझै बढ्ने हाम्रो विश्वास छ ।’

स्वीकृत प्रतिवेदनअनुसार एमपिएस १६ महिनाको कोर्स हुनेछ । जसमध्ये पहिलो दुई महिना प्रवेश परीक्षाको लागि छुट्याइएको छ भने त्यसपछिको १० महिना आवासीय हुनेछ । अन्तिम चार महिनामा थेसिसका लागि छुट्याइएको छ । एकपटकमा प्रहरी प्रधान कार्यालयको तालिम निर्देशनालयले डिएसपी र इन्स्पेक्टरमध्येबाट एक सय पाँचजना छनोट गरी प्रवेश परीक्षामा सहभागिताका लागि प्रशिक्षण प्रतिष्ठानमा पठाउनेछ । उनीहरूमध्येबाट प्रवेश परीक्षा उत्तीर्ण गर्न सक्ने अधिकतम ३५ जनाले यस्तो कोर्स गर्न पाउनेछन् । प्रवेश परीक्षा त्रिभुवन विश्वविद्यालयले नै लिनेछ । एक अधिकृतले अधिकतम तीनपटकसम्म प्रवेश परीक्षा दिन पाउनेछन् ।

न्यूनतम सात वर्ष पदावधि पुगेका इन्स्पेक्टरले प्रवेश परीक्षा दिन पाउनेछन् । प्रहरी निरीक्षक आधारभूत तालिमको १५८ तथा पिजिडिपिएस सातौँ ब्याच एमपिएस सुरु गर्न लागिएको छ । यो ब्याचका ६५ जना डिएसपी तथा ७९ जना इन्स्पेक्टर छन् । इन्स्पेक्टरको ठूलो ब्याच भएकाले यही टोलीबाट कार्यान्वयन गरी भावी बढुवामा एमपिएसलाई आधार बनाउन लागिएको एक उच्च प्रहरी अधिकारी बताउँछन् ।  

स्टाफ कलेज लागू भएपछि प्रहरी प्रधान कार्यालयले एसपी बढुवामा ६० प्रतिशत एमपिएस र ४० प्रतिशत अन्यलाई कोटा दिने नीति बनाएको छ । त्यस्तै, एसएसपी बढुवामा ८० प्रतिशत तथा डिआइजी बढुवामा शतप्रतिशत एमपिएस मात्र बढुवा हुनेछन् । यस्तो नीतिअनुसार प्रहरी नेतृत्वमा एमपिएस गरेका अधिकृत मात्र पुग्ने भएकाले बढुवामा तुलनात्मक रूपमा स्वच्छ प्रतिस्पर्धा हुने र क्षमतावान अधिकृत पुग्ने प्रहरी अधिकारी बताउँछन् ।  

एमपिएस लागू भएपछि आधारभूत तालिमसँगै प्रहरी निरीषकहरूले एकवर्षे त्रिभुवन विश्वविद्यालयको पोस्ट ग्राजुयट डिप्लोमा इन पुलिस साइन्स(पिजिडिपिएस) कोर्स  हट्ने भएको छ । स्नातक गरिसकेका इन्स्पेक्टरहरूका लागि यो अर्काे स्नातक कोर्स अनावश्यक रहेको र प्रभावकारीसमेत नरहेको निष्कर्ष प्रहरी नेतृत्वको छ ।  

सुझावित समाचार